भोलिदेखि सङ्घीय संसद्को बजेट अधिवेशन सुरु, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने
News Desk
May-11 तारिख 06:40 बिहान

 

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति Ram Chandra Paudel ले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहभागी हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई अपराह्न ३ः४५ बजेभित्र संसद् भवनमा उपस्थित हुन संसद् सचिवालयले आग्रह गरेको छ ।

यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्ने कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी सदनलाई गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि छलफल हुने जनाइएको छ ।

संसद् सचिवालयका अनुसार सरकारले जारी गरेका विभिन्न अध्यादेशहरू पनि संसद्मा पेश गरिनेछन् । तीमध्ये ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ अध्यादेश रहेका छन् । उक्त अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभामा पेश हुनेछन् ।

धेरै पढिएको