News Desk
काठमाडौं । सरकारले सप्ताहमा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेसँगै विद्यालय तहको वार्षिक बिदा घटाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक क्यालेन्डर तयार गर्दै वर्षे र हिउँदे बिदा कटौती गर्ने व्यवस्था अघि बढाएको हो ।
केन्द्रले जारी गरेको परिपत्रअनुसार अब विद्यालयमा शनिबार र आइतबार नियमित बिदा हुने भएकाले साबिकमा दिइँदै आएको ४५ दिनको वर्षे तथा हिउँदे बिदालाई घटाएर ३० दिनमा सीमित गरिनेछ । यस सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा सामुदायिक विद्यालयहरूलाई आवश्यक निर्देशन दिइएको छ ।
मन्त्रिपरिषद्को दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्दा शैक्षिक गतिविधिमा असर नपर्ने गरी बिदा समायोजन गर्न केन्द्रले आग्रह गरेको छ । साथै विद्यालय सञ्चालनको समय व्यवस्थापनसमेत नयाँ ढाँचाअनुसार गर्न भनिएको छ ।
निर्देशनमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय छुट्याउनुपर्ने उल्लेख गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म नियमित पठनपाठन तथा अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।
त्यसैगरी, पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन कक्षाको नियमित पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । शैक्षिक सत्रको अन्तिम १२ दिन भने अन्तिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।