पृथ्वीराजमार्ग विस्तारसँगै तनहुँका ऐतिहासिक सम्पदाको पुनर्निर्माण
News Desk
May-15 तारिख 06:31 बिहान • आज

 

काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार परियोजनाले तनहुँ खण्डमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यलाई तीव्र बनाएको छ । सडक विस्तार सम्पन्न भएसँगै राजमार्ग सीमाभित्र परेका मठमन्दिर, पाटीपौवा तथा अन्य पुरातात्त्विक संरचनाको संरक्षण र पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) अन्तर्गत ४१ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएपछि सम्पदा संरक्षणको कामले गति लिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । एसियाली विकास बैंक (एडिबी) को करिब छ अर्ब ३१ करोड रुपैयाँ लागतमा उक्त सडक स्तरोन्नति गरिएको हो ।

उहाँका अनुसार सडक विस्तारका क्रममा प्रभावित भएका धार्मिक तथा सांस्कृतिक सम्पदाको मौलिक स्वरूप जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही बजेटमार्फत विभिन्न मठमन्दिर, पाटीपौवा तथा सांस्कृतिक संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ ।

त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवामा अवस्थित ऐतिहासिक भानु–घाँसी पार्क तथा कुवाको पुनर्निर्माणका लागि पनि विशेष योजना अघि बढाइएको छ । भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको करिब तीन करोड रुपैयाँको गुरुयोजनाअनुसार पार्कलाई आधुनिक तथा व्यवस्थित रूपमा विकास गरिने बताइएको छ ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीसँग सम्बन्धित ऐतिहासिक प्रसङ्ग बोकेको उक्त स्थललाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

सडकमा कालोपत्र, लेन मार्किङ लगायतका मुख्य प्राविधिक कार्य सम्पन्न भइसकेपछि अहिले सडक किनारका संरचना व्यवस्थित गर्ने तथा सम्पदा संरक्षणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । स्थानीय समुदाय र संरक्षण समितिको सहकार्यमा पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको हो ।

विसं २०७७ माघमा ठेक्का सम्झौता भई सुरु गरिएको यो आयोजना नेपालको ‘लाइफ लाइन’ मानिने पृथ्वीराजमार्गको नमूना स्तरोन्नति परियोजनाका रूपमा समेत हेरिएको छ ।