News Desk
धादिङ l इलाका प्रहरी कार्यालय गजुरीले धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बेनीघाट रोराङ गाउँपालिका–२ हाँवाङ निवासी ३५ वर्षीय वीरबहादुर तामाङलाई ५१ किलोग्राम अफिम र करिब ३ सय किलोग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको घरबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तामाङको घरमा खानतलासी गर्दा लागूऔषध जोख्न प्रयोग गरिएका दुई वटा तराजु समेत फेला परेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले घरमा छापा मार्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको जनाएको छ ।
त्यसै क्रममा प्रहरीले सोही क्षेत्रका २८ वर्षीय विराज तामाङ र कान्छा तामाङको घरमा समेत थप खोजतलास गरेको थियो । खोजतलासका क्रममा उनीहरूको घरबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको टोलीले लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा अपरेशन सञ्चालन गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ । साथै उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।