पैसा दिन रोकिएपछि इन्जिनियर प्रेमीको हत्या, शव ड्रममा हालेर नालामा फालियो
News Desk
May-17 तारिख 06:53 बिहान • आज

 

काठमाडौं । भारतको मुम्बईस्थित वसई क्षेत्रमा एक महिलाले आफ्नै श्रीमानसँग मिलेर आफ्ना इन्जिनियर प्रेमीको हत्या गरेको घटना सार्वजनिक भएको छ । हत्या पछि शवलाई निलो ड्रममा राखेर नालामा फालिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रहरीले घटनामा संलग्न महिलालाई पक्राउ गरिसकेको छ भने अन्य केही आरोपी फरार रहेका छन् ।

प्राप्त जानकारीअनुसार पक्राउ पर्नेमा २५ वर्षीया मेहजबीन खातुन र उनका भाइ रहेका छन् । प्रहरीका अनुसार घटनामा मेहजबीनका श्रीमान तथा उनका एक साथी पनि संलग्न थिए । मृतकको पहिचान २६ वर्षीय अरबाज मकसुद अली खानका रूपमा भएको छ । उनी डोम्बिवलीस्थित एक रियल स्टेट डेभलपर कम्पनीमा इन्जिनियरका रूपमा कार्यरत थिए ।

प्रहरी अनुसन्धानअनुसार मेहजबीन र अरबाजबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो । सुरुमा सामान्य सम्बन्ध रहे पनि पछि मेहजबीनले अरबाजसँग बारम्बार पैसा माग्ने गरेकी थिइन् । अरबाजले समय–समयमा उनको खातामा रकम पठाउने गरेका थिए । तर पछिल्लो समय उनले पैसा पठाउन अस्वीकार गरेपछि विवाद बढ्दै गएको बताइएको छ ।

प्रहरीले जनाएको अनुसार मेहजबीनले आफ्ना श्रीमान र भाइसँग मिलेर अरबाजको हत्या गर्ने योजना बनाएकी थिइन् । घटनाको दिन अरबाज कार्यालय गएपछि साँझ घर नफर्किएपछि उनका परिवारले प्रहरीमा हराएको उजुरी दिएका थिए । मोबाइल लोकेशन ट्र्याक गर्दा उनी मेहजबीनको घरसम्म पुगेको खुलेपछि अनुसन्धान अगाडि बढाइएको थियो ।

अनुसन्धानका क्रममा घटनाभन्दा एक दिनअघि मात्रै अरबाजले मेहजबीनको खातामा ५० हजार भारतीय रुपैयाँ पठाएको तथ्य समेत खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछमा मेहजबीनले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेकी थिइन् । तर पछि प्रहरीले प्रमाण प्रस्तुत गरेपछि उनले अपराध स्वीकार गरेको बताइएको छ ।

प्रहरीका अनुसार आरोपीहरूले अरबाजका हातखुट्टा बाँधेर प्लास्टिकको पाइपले निर्घात कुटपिट गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उनको मृत्यु भएको थियो । त्यसपछि शवलाई निलो ड्रममा राखेर नजिकैको नालामा फालिएको थियो ।

घटनापछि प्रहरीले मेहजबीन र उनका भाइलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । फरार रहेका अन्य आरोपीहरूको खोजी कार्य जारी रहेको भारतीय प्रहरीले जनाएको छ ।

धेरै पढिएको