विपक्षीको नाराबाजीकैबीच प्रतिनिधि सभा बैठक सञ्चालन
News Desk
May-22 तारिख 05:59 बिहान

 

काठमाडौं, ७ जेठ । विपक्षी दलहरूको तीव्र विरोध र नाराबाजीकैबीच बुधबार प्रतिनिधि सभाको बैठक सञ्चालन गरिएको छ । बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति, जवाफ तथा सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विरोध जनाएका थिए ।

विपक्षी दलहरूले आफ्ना माग सम्बोधन गर्न आग्रह गरेपनि सभामुखले त्यसबारे कुनै निर्णय नगरी नियमित कार्यसूचीअनुसार बैठक अघि बढाउनुभएको थियो ।

बैठकका क्रममा एमाले, नेकपा तथा श्रम संस्कृति पार्टीका सांसदहरूले रोष्ट्रम घेरेर नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए । यस्तै नेपाली काँग्रेसका सांसदहरूले आआफ्नो स्थानमा उभिएर सरकारविरुद्ध विरोध जनाएका थिए ।

सदनमा लगातार होहल्ला र नाराबाजी भइरहे पनि सभामुखले केही विधेयक पारित भएको घोषणा गर्नुभएको थियो । विपक्षी सांसदहरूको विरोधका कारण केही समय बैठक तनावपूर्ण बनेको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १२ गते मंगलबार बस्ने गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।