साहित्यकार तथा उपन्यासकार डा. महेन्द्र कुमार मल्लद्वारा लिखित उपन्यास "नक्खी "सार्वजनिक
News Desk
May-24 तारिख 07:48 बेलुका

सरिता ढकाल 
काठमाडौं । साहित्यकार तथा उपन्यासकार डा. महेन्द्र कुमार मल्लद्वारा लिखित उपन्यास ‘ नक्खी को भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा विभिन्न साहित्यिक विधाका वरिष्ठ साहित्यकार, वरिष्ठ उपन्यासकार, कलाकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपन्यास ‘नखी’ मा कर्णाली प्रदेशको भौगोलिक अवस्था, सामाजिक रहनसहन, स्थानीय बोलीचाली, भेषभूषा, सामाजिक रीतिरिवाज, कला, संस्कृति, मठ–मन्दिर तथा जनजीवनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी कर्णाली क्षेत्रको मौलिकता र सामाजिक यथार्थलाई लेखकले जीवन्त शैलीमा चित्रण गरेका छन्।

यस उपन्यासको अर्को विशेषता भनेको नेपालको तीन फरक भाषिक स्वरूपलाई समेटिनु हो। जाजरकोटी, सल्यानी र रुकुमेली भाषाको प्रयोगले उपन्यासलाई अझ जीवन्त र मौलिक बनाएको छ। साथै कर्णाली प्रदेशको जातीय विविधता र सामाजिक संरचनालाई पनि उपन्यासमा उल्लेखनीय ढंगले प्रस्तुत गरिएको छ।

उपन्यासका मुख्य पात्र नखी र दमनबीचको प्रेमकथाले पाठकलाई भावुक बनाउने देखिन्छ। नखी ठकुरी परिवारकी छोरी हुन् भने दमन दलित परिवारका युवक हुन्। अन्तरजातीय प्रेम सम्बन्धका कारण समाजले उनीहरूको सम्बन्धलाई स्वीकार गर्न नसक्दा उनीहरूबीच दुःखद बिछोड हुन्छ। प्रेमवियोग सहन नसकेपछि नायक दमनले भेरी नदीमा हाम फालेर आत्मत्याग गर्ने घटनालाई उपन्यासमा मार्मिक रूपमा चित्रण गरिएको छ। यस प्रसङ्गले केही समयअघि चर्चामा आएको नामराज घटनाको झल्को समेत दिने प्रयास गरेको देखिन्छ।

उपन्यासमा “पानीको सम्बन्ध बादलसँग, तालको सम्बन्ध मादलसँग, मान्छेको सम्बनध
 प्रेम र भावनासँग” भन्ने भावनात्मक अभिव्यक्तिमार्फत प्रेम, भावना र मानवीय सम्बन्धलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ। साथै नारी अस्तित्व, नारीवादी चेतना, कोरोना कालमा मानिसहरूले भोगेका कठिनाइ, माओवादी जनयुद्धका प्रभाव तथा सामाजिक परिवर्तनका विषयलाई पनि उपन्यासले समेटेको छ।

लेखक डा. महेन्द्र कुमार मल्लले समाजमा विद्यमान कथित जातीय विभेद, उत्पीडन र सामाजिक असमानतालाई गम्भीर रूपमा उठान गर्दै पवित्र प्रेमसमेत जातीय बन्धनका कारण कसरी विछोडमा परिणत हुन्छ भन्ने यथार्थलाई प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्।

सार्वजनिक कार्यक्रममा सहभागी साहित्यकारहरूले उपन्यास ‘नखी’ समाज परिवर्तनको चेतना बोकेको सशक्त कृति भएको टिप्पणी गरेका थिए। सामाजिक यथार्थ, प्रेम, पीडा, जातीय विभेद र मानवीय संवेदनालाई समेटिएको यो उपन्यास नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ।