News Desk
काठमाडौं । काठमाडौँ विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले उपकुलपति पदका लागि योग्य व्यक्तिहरूको छनोट र सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिएको हो।
गठित समितिको संयोजकमा सहकुलपति पोखरेल रहेका छन्। समितिका अन्य सदस्यहरूमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गाना तथा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष एवं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्मा रहेका छन्।
समितिले उपकुलपति पदका लागि आवश्यक योग्यता र मापदण्डका आधारमा सम्भावित उम्मेदवारहरूको मूल्याङ्कन गरी विश्वविद्यालयलाई सिफारिस गर्नेछ।
यस निर्णयसँगै काठमाडौँ विश्वविद्यालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। विश्वविद्यालयको शैक्षिक उत्कृष्टता, अनुसन्धान, नवप्रवर्तन तथा संस्थागत विकासलाई थप सुदृढ बनाउन सक्षम नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको काठमाडौँ विश्वविद्यालयमा नयाँ उपकुलपतिको नियुक्तिले आगामी दिनमा विश्वविद्यालयको रणनीतिक विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ दिशा प्रदान गर्ने विश्वास गरिएको छ।