रोटरी क्लब अफ कपनको डिस्ट्रिक्ट गभर्नर भिजिट कार्यक्रम सम्पन्न
News Desk
Jun-09 तारिख 09:27 बेलुका • आज

ललितपुर, जेठ २६, २०८३ । रोटरी क्लब अफ कपनको डिस्ट्रिक्ट गभर्नर भिजिट (DGV) कार्यक्रम डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाको विशेष उपस्थिति एवं क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा डिस्ट्रिक्ट सचिव अनिश बज्राचार्य, रोटरी क्लब अफ चाँगुका चार्टर प्रेसिडेन्ट उत्तम पौडेल, क्लबका मानार्थ सदस्य तथा वरिष्ठ चिकित्सक डा. बुलन्द थापा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा डिस्ट्रिक्ट गभर्नर कोइरालाले क्लबको वार्षिक प्रतिवेदन अध्ययन गरी क्लबले वर्षभरि गरेका सामाजिक तथा सेवामूलक कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न आवश्यक सुझाव प्रदान गरेका थिए। उनले संस्थागत विकासका लागि देखिएका कमी कमजोरीहरू सच्याउँदै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिन आग्रह गरे।

त्यसैगरी, डिस्ट्रिक्ट सचिव बज्राचार्यले प्रस्तुत प्रतिवेदन माथि टिप्पणी गर्दै यस वर्ष देखिएका चुनौती तथा कमजोरीहरूलाई आगामी कार्यकालमा सुधार गरी अझ सशक्त ढंगले अघि बढ्न सुझाव दिएका थिए।

कार्यक्रममा डा. बुलन्द थापाले क्लबद्वारा सञ्चालित ग्लोबल ग्रान्ट परियोजनाबारे विस्तृत जानकारी गराउँदै परियोजना सम्बन्धी आफ्ना जिज्ञासा तथा सुझावहरू डिस्ट्रिक्ट गभर्नर समक्ष राखेका थिए।

क्लबका पास्ट प्रेसिडेन्ट डा. राजु लामा कुन्दनले क्लबको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि तथा वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराएका थिए। कार्यक्रमको सहजीकरण क्लबकी पूर्व अध्यक्ष नियुक्ति शेर्पाले गरेकी थिइन्।

सो अवसरमा क्लबका सदस्य, पास्ट प्रेसिडेन्ट, सल्लाहकार, मानार्थ सदस्य तथा केही नयाँ सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको र नयाँ सदस्यहरुलाई परिचय गराउँदै स्वागत गरिएको क्लबका सचिव दीपकचन्द्र गौतमले जानकारी दिए।

कार्यक्रममा क्लबका पदाधिकारीहरूले डिस्ट्रिक्ट गभर्नर तथा डिस्ट्रिक्ट सचिवलाई फूलको गुच्छा र मालाद्वारा स्वागत गरेका थिए। मायाको चिनो प्रदान गर्ने क्रममा क्लबका अध्यक्ष प्रल्लाद दाहालले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै उत्पादन घिउ अतिथिहरूलाई मायाको चिनो स्वरूप प्रदान गरिएको जानकारी दिए।

यसैबीच ताइवानमा हुने आगामी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट कन्भेन्सनमा क्लबका तर्फबाट मानार्थ सदस्य डा. बुलन्द थापा र सचिव दीपकचन्द्र गौतम सहभागी हुने कुरा क्लबकी पूर्व अध्यक्ष सुचिता काफ्लेले बताइन्।

आगामी कार्यकालकी अध्यक्ष मञ्जु श्रेष्ठले आगामी बैठक मार्फत वार्षिक कार्ययोजना तय गरी क्लबका गतिविधिहरूलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूले रोटरीको सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त रूपमा अघि बढाउन प्रतिबद्धता व्यक्त गरेका थिए।

धेरै पढिएको