आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणका सात मुद्दा दायर, रु १ खर्ब १८ अर्बभन्दा बढी बिगो दाबी
News Desk
Jul-24 तारिख 06:31 बिहान

 

काठमाडौं, साउन ८ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सातवटा मुद्दा अभियोजन गर्दै १२१ जनालाई प्रतिवादी बनाएको छ। विभागले प्रतिवादीहरूसँग करिब रु १ खर्ब १८ अर्ब ५ करोड बराबरको बिगो दाबी गरेको जनाएको छ।

बिहीबार विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई स्क्रिनिङ कमिटीमार्फत छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक देखिएमा अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अघि बढाइने व्यवस्था रहेको छ।

विभागमा अनुसन्धान तथा अभियोजन कार्य प्रभावकारी बनाउन चारवटा अनुसन्धान शाखा सञ्चालनमा छन्। यसका साथै कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा तथा प्रहरी शाखाले अनुसन्धान र अभियोजन प्रक्रियामा सहकार्य गर्दै आएका छन्।

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको जनाएको छ। पछिल्ला वर्षहरूमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन, अनुसन्धान र तहकिकात प्रक्रियालाई थप प्रभावकारी र तीव्र बनाइएको विभागको भनाइ छ।

विभागका अनुसार आर्थिक अपराध नियन्त्रण, अवैध सम्पत्तिको पहिचान तथा वित्तीय प्रणालीलाई पारदर्शी बनाउन अनुसन्धान र अभियोजन कार्यलाई आगामी दिनमा अझ सुदृढ बनाइनेछ।

धेरै पढिएको