News Desk
बारा — कार्तिक २५, २०७७।
कलैयामा भइरहेको जेसिज कप त्रिकोणात्मक त्रिकेट प्रतियोगिताको उपाधिका लागि कलैया त्रिकेट क्लब र वीरगन्ज–११ मंगलबार भिड्ने भएका छन् । सोमबार लिग चरणको अन्तिम खेलको नतिजापछि दुई टिमले उपाधि भिडन्त तय गरेका हुन् ।
कलैयाका साहिल पटेललाई म्यान अफ द म्याचको ट्रफी प्रदान गर्दै आयोजकका संयोजक सुभाष जयसवाल । तस्बिर : लक्ष्मी/कान्तिपुर
कलैया सिटी जेसिजको आयोजनामा भएको प्रतियोगिताको सोमबार खेलमा कलैया क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई हराएको थियो । वीरगन्ज–११ ले भने यसअघि मकवानपुर र कलैयालाई हराएर फाइनल सुरक्षित गरेको थियो ।
कलैयाको सिद्धेश्वर क्रिकेट खेल मैदानमा सोमबार कलैयाले मकवानपुरलाई ७ विकेटले हरायो ।
मकवानपुरले टस जितेर निर्धारित ४० ओभरको खेलमा ३७.४ ओभरमै सबै विकेट गुमाएर १ सय २५ रन बनायो । राजन ढकालले ४० र सुवर्ण श्रेष्ठले २३ रन बनाए । कलैयाका धुलावन सहनी, आशुतोष पटेल, पवन सर्राफ, कुमार थापा र अनिल साहले २–२ विकेट लिएका थिए ।
जवाफमा कलैया क्रिकेट क्लबले १७ ओभरमा ३ विकेट गुमाई १ सय २६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । साहिल पटेलले ५२ रन, तृत दासले १७, पवन सर्राफले २१ रन बनाए । मकवानपुरका निखिल श्रेष्ठले २ र रामनरेश गिरीले १ विकेट लिए । म्यान अफ द म्याच कलैयाका साहिल पटेल भए । उनलाई आयोजकका संयोजक सुभाष जयसवालले ट्रफी प्रदान गरे ।
(कान्तिपुर दैनिक)