News Desk
म्याड्रिड — कार्तिक २५, २०७७।
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भ्यालेन्सियासँग आइतबार आफ्नो टिमले बेहोरेको हार माफी गर्न योग्य नभएको बताएका छन् ।
उनले रियलको हारमा रेफ्रीको निर्णय र आफ्ना खेलाडीमात्र घाइते रहनु नै प्रमुख कारण नरहेको माने । भ्यालेन्सियाका फरवार्ड कार्लोस सोलेरले तीन पेनाल्टीमा ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा स्तब्धपूर्ण ४–१ को हार बेहोरेको हो । असाधारण साबित खेलमा रियलले करिम बेन्जेमाको गोलले अग्रता लिएको थियो ।
इडेन हाजार्डसँगै दुई खेलाडी कोभिड–१९ ले संक्रमित भएपछि रियललाई समस्या भएको हो । रियलका ६ खेलाडी भ्यालेन्सियाविरुद्ध मैदानमा उत्रन असमर्थ थिए । ‘आजको हारमा हामीले अनेक बहाना खोज्न सक्छौं । सबैसँग केही न केही कारण हुने गर्छ । तर यी सबैको केही काम छैन, हामीले राम्रो खेल्नै सकेनौं । खेलले १–१ को बराबरीको स्थिति रहेपछि हाम्रो खेल नराम्रो हुन थालेको हो । हामी एक गोलले अगाडि रहेको बेलासम्म सबै ठीकै देखिएको थियो ।’
एक गोलले पछाडि रहेको स्थितिमा सोलेरले पहिलो जवाफी गोल गरे । त्यसपछि राफेल भारानेले आत्मघाती गोल गरे । त्यसपछि सोलेरले दुई गोल थपे । सन् २०१८ मा बार्सिलोनासँग ५–१ ले हारेयता रियलको यो सबैभन्दा खराब हार थियो ।
खेलपछि रियल ८ खेलबाट १६ अंकमा चौथो स्थानमा रह्यो । रियल सोसिडाड भने २० अंकसहित शीर्षस्थानमा छ । लयमा रहेको सोसिडाडले अर्को खेलमा ग्रेनाडालाई २–० ले हराएको थियो ।
(कान्तिपुर दैनिक)