News Desk
नयाँ दिल्ली — कार्तिक २६, २०७७। एजेन्सी
भारतीय कप्तान विराट कोहली अस्ट्रेलियासँग अर्को महिना एडिलेडमा हुने पहिलो टेस्टपछि घर फर्कने भएको भारतीय क्रिकेट बोर्डले मंगलबार जनाएको छ ।
आफ्नो पहिलो सन्तानको जन्मको अवसरमा उनी आफ्नो देश फर्कने भएका हुन् । उनको अनुपस्थितिमा उपकप्तान अजिन्क्या राहनेले चार टेस्ट सिरिजका बाँकी तीन खेलमा भारतीय टिमको नेतृत्व गर्नेछन् । दोस्रो टेस्ट नोभेम्बर २७ बाट सिड्नीमा सुरु हुनेछ ।
त्यसपछि सीमित ओभरका ६ खेल हुनेछ । बोर्डको छनोटकर्ता बैठकमा कोहलीले पहिलो दिवारात्रि टेस्टपछि आफू घर फर्केने योजनाबारे सुनाएका थिए । बोर्ड सचिव जय शाहले भनेका छन्, ‘बीसीसीआईले भारतीय कप्तानलाई घर फर्कन अनुमति दिएको छ । उनी एडिलेड टेस्टपछि अस्ट्रेलियाबाट फर्कने छन् ।’
कोहलीकी पत्नी नायिका अनुष्का शर्मा गर्भवती छिन् । उनीहरू आफ्नो पहिलो सन्तानको प्रतीक्षामा छन् । गत वर्ष मात्र कोहलीको नेतृत्वमा भारतले अस्ट्रेलियामाथि पहिलो टेस्ट सिरिज जित निकालेको थियो ।
अस्ट्रेलिया जाने टिममा भारतले केही प्रमुख खेलाडी परिवर्तन पनि गरेको छ । अहिले चलिरहेको इन्डियन प्रिमियर लिगका क्रममा केही खेलाडी घाइते भएपछि यो परिवर्तन आवश्यक भएको हो । प्रारम्भिक ब्याट्सम्यान बोर्डर–गावस्कर ट्रफीका लागि टेस्ट टिममा राखिएको छ । यसअघि उनी चोटका कारण टिममा थिएनन् । यस्तै घाइते तीव्र गतिका बलर इशान्त शर्मा पनि अपेक्षाभन्दा चाँडै चोटमुक्त भएमा टेस्ट टिममा फर्कन सक्ने भएका छन् ।
इन्डियन प्रिमियर लिगकै क्रममा घाइते भएका विकेटकिपर/ब्याट्सम्यान ऋद्धिमन शाह पनि चोटमुक्त भए उनलाई अस्ट्रेलियाबाट बोलाउन सकिनेछ । भारतीय टिममा रहेका अर्का विकेटकिपर ऋषभ पन्त हुन् ।
सन्जु सामसनलाई पनि एकदिवसीय टिममा जगेडा विकेटकिपरका रूपमा राखिएको छ । काँधको चोटबाट गुज्रिइरहेका स्पिनर वरुण चक्रवर्तीको स्थानमा तीव्र गतिका बलर टी नटराजनलाई ट्वान्टी–२० टिममा समावेश गरिएको छ ।
(कान्तिपुर दैनिक)