अहिलेसम्मकै उत्कृष्ट आईपीएल !
News Desk
Nov-12 , 2020 तारिख 04:04 बेलुका

मुम्बईले किन उपाधि जित्यो त ?

यसको उत्तर हो, यो टिमसँग लामो लामो प्रहार गर्नसक्ने ब्याट्सम्यान धेरै छन् ।आईपीएल २०२० मा सबैभन्दा बढी छक्का प्रहार गर्नेमध्ये चार जना त मुम्बईकै रहे ।

नयाँ दिल्ली — कार्तिक २६, २०७७।

दुई महिनाको लगातार ट्वान्टी–२० क्रिकेटपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० ले अन्ततः मुम्बई इन्डियन्सलाई विजेता पाएको छ । के यसपल्टको प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट हो त ? होइन, किनभने एक संस्करणसँग अर्कोको तुलना नै गर्न मिल्दैन ।

अहिलेसम्म भएका १३ संस्करणका प्रतियोगितामध्ये प्रत्येकसँग केही न केही राम्रो छ । प्रत्येक वर्ष हामीलाई अनुभव हुन्छ, यसपल्टको प्रतियोगिता गज्जब थियो ।

पूरा आईपीएल नै विदेशमा । यो त नयाँ अनुभव नै हो । भलै, यसअघिका प्रतियोगिताका केही भाग यूएई र दक्षिण अफ्रिकामा नभएको पनि होइन । तर यसपल्ट पूराका पूरा प्रतियोगिता भारतबाहिर भयो । यसको कारण असाधारण नै छ, कोभिड–१९ संक्रमणको महामारी । यसै कारण यसपल्टको प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता रह्यो, ठ्याक्कै दर्शक नहुनु । यद्यपि प्रतियोगिताको रोमाञ्चकता भने पटक्कै कम भएन ।

कुल ६० खेल भए । यसमा केही वास्तवमै उत्कृष्ट अवसर देखिए । जस्तो, राहुल टेवाटियाले राजस्थान रोयल्सका लागि एकै ओभरमा पाँच छक्का प्रहार गर्नु, शिखर धवनले दिल्ली क्यापिटल्सका लागि लगातार दुई शतक बनाउनु, एबी डी भिलियर्सले रोयल च्यालेन्जर्सलाई जोगाउनु, एकै खेलमा दोहोरो सुपर ओभर अनि एकै दिन तीन सुपर ओभर । यस्तो धेरै छन् र हामी प्रश्न गर्न सक्छौं, साँच्चै के यसपल्टको प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट हो त ?

यसको उत्तर हो, १३ सिजनमध्ये यसपल्टलाई उत्कृष्टबीचमा राख्न पक्कै मिल्छ । कोभिड–१९ का कारण यसपल्ट खेलाडी सबै कडा सुरक्षा घेराभित्र रहे । सुरुमा डर थियो, यसले खेलाडीलाई कतै मानसिक रूपमा गलाउने त होइन ? केही समयका लागि त समस्या नहुँदो हो, तर दुई महिना लगातार रहनु पक्कै पनि सजिलो थिएन । तर खेलाडी गल्दै गलेनन्, बरू खेलाडीहरूले उम्दा प्रदर्शन गरे । यो नै प्रतियोगिताको यसपल्टको सबैभन्दा ठूलो उपलब्धि रह्यो ।

यूएईमा सेप्टेम्बरमा चर्को गर्मी नै हुन्छ, अक्टोबर ठीकै हुन्छ, नोभेम्बरमा मौसम मज्जाको हुन्छ । आईपीएल २०२० सुरु हुँदा मौसमबारे नि उत्तिकै चिन्ता थियो र यसको अर्को प्रमुख कारण के थियो भने खेलाडी ६ महिना घरमै बसेर मैदान फर्कन लागेका थिए । खुसी त्यतिबेला सबैले महसुस गरे, जतिबेला खेलाडीले गर्मी पनि छले, त्यसमाथि जित प्राप्त गरेर नै खेले । खेलाडीहरू ६० दिनको खेलपछि पनि लगभग दुरुस्तै जस्तो देखिए ।

विशेषतः तीव्र गतिका बलरहरूले १ सय ४० किलोमिटर प्रतिघण्टाको दरले मज्जाले बलिङ गरे, खेलाडीको फिटनेसलाई लिएर खासै प्रश्न उठेन । प्रश्न पिचलाई लिएर पनि थियो । खाली तीन रंगशाला मात्र प्रयोगमा आएका थिए, अबुधाबी, दुबई र शारजहाँको । त्यसैले उपलब्ध पिच धेरै थिएनन् । डर थियो, प्रतियोगिताको अन्त्य अन्त्यसम्म पुग्दा पिचको सत्यानाश त हुने होइन । त्यस्तो पनि भएन । क्वालिफायर एक र दुई दुवैमा २ सय रनको हाराहारीमा रन बने ।

फाइनलमै पनि तीन सय रन बनेको थियो, त्यो पनि १२ विकेटको क्षतिमा । त्यसैले पिचबारे गुनासो गर्ने ठाउँ पनि रहेन । आईपीएल २०२० पेस बलरका लागि प्रिय रह्यो । नयाँ बलमा राजस्थान रोयल्सका जोफ्रा आर्चरविरुद्ध खेल्न निकै गाह्रो देखियो । प्रतियोगिताका क्रममा खेलको पहिलो बलमै विकेट ढलेको देख्न पाइयो । ट्रेन्ट बोल्टले फाइनलको पहिलो बलमै मार्कस स्टोइनिसलाई आउट गर्न सक्नु यसको सबैभन्दा राम्रो उदाहरण रह्यो ।

दिल्ली क्यापिटल्सका कागिसो राबाडाले ३० विकेटसँगै ‘पर्पल क्याप’ जिते । मुम्बईका जसप्रित बुमराह पनि धेरै पछाडि रहेनन्, उनले २७ विकेट लिए । बोल्टसँगै एनरिच नोकिआ पनि कम्ता रहेनन् । बेंग्लोरका युजभेन्द्र चाहल मात्र त्यस्तो स्पिनर रहे, जो सबैभन्दा बढी विकेट लिने बलर सूचीको शीर्ष पाँचमा थिए । मोहम्मद सिराजले त गज्जबकै ‘स्वीङ’ गरे र लगातार दुई मेडन ओभर फाले । बोल्टले बायाँ हातको बलिङ मदतले २५ विकेट हात पारे ।

अब मुख्य प्रश्न, मुम्बईले किन उपाधि जित्यो त ? यसको उत्तर हो, यो टिमसँग लामो लामो प्रहार गर्नसक्ने ब्याट्सम्यान धेरै छन् । आईपीएल २०२० मा सबैभन्दा बढी छक्का प्रहार गर्नेमध्ये चारजना त मुम्बईकै रहे । उसका लागि इशान किशनले ३०, हार्दिक पान्ड्येले २५, किइरोन पोलार्डले २२ र क्विन्टन डी ककले २२ छक्का प्रहार गरे । यी सबै छक्कालाई जोड्दा पनि ९९ पुग्छ । त्यसमाथि कप्तान रोहित शर्माले पनि १९ छक्का प्रहार गरे ।

मुम्बईलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने दुई प्रमुख खेलाडी सूर्यकुमार यादव र इशानले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्, तर उनीहरू दुवैको खेलमा कतै खोट लगाउने ठाउँ रहेन । यो आईपीएल २०२० को अर्को ठूलो विशेषता रह्यो । सूर्यकुमारले जहाँ ४ सय ८० रन बनाए, त्यहीं किशनको ब्याटबाट ५ सय १६ रन निस्केको थियो । जब उनीहरू क्रिजमा रहे, मुम्बईलाई अनुभवी हार्दिक पान्ड्येदेखि पोलार्डसमेत चाहिएनन् ।

डी ककले धेरै अवसरमा मुम्बईलाई आक्रमण सुरुआत दिलाए, यसले टिमलाई धेरै राहत दिएको थियो । यहाँनिर शिखर धवनको प्रदर्शनलाई छुटाउनुहुन्न, उनले ६ सय १८ रन बनाए । यसै कारण दिल्ली पहिलोपल्ट आईपीएल इतिहासमा फाइनल पुग्न सफल रह्यो । केएल राहुलले लगातार राम्रो खेले र जिते ‘अरेन्ज क्याप’ । उनले ६ सय ७० रन बनाए । डेविड वार्नरले ५ सय ४८ रन बनाए र उनको टिम सनराइर्ज हैदराबाद पुग्न सफल रह्यो, दोस्रो क्वालिफायरसम्म ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको