बंगलादेश पुगेका एक जना नेपाली फुटबल खेलाडीलाई कोरोना
News Desk
Nov-12 , 2020 तारिख 07:23 बेलुका

काठमाडौं — कार्तिक २६, २०७७।

मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिएपछि उनले बंगलादेशसितको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बंगलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ ।

नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । बंगलादेश उड्नुअघि पनि सबै खेलाडीसहित सबैको पीसीआर परीक्षण गरिएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बंगलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पछिल्लो पटक बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई पराजित गरेको थियो । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जना हाल बंगलादेशको ढाकामा रहेका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको