‘फ्रेन्ड्ली’ मा मैत्रीपूर्ण हुन नसकेको नेपाल
News Desk
Nov-13 , 2020 तारिख 03:44 बेलुका

काठमाडौँ — कार्तिक २८, २०७७। 

नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको धेरै वर्ष भयो । आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न थालेको भने धेरै पछि हो, सन् २००८ देखि मात्र । त्यसैले अघिल्ला पुस्ताका खेलाडी त यस्ता ‘फ्रेन्ड्ली’ खेल कस्तो हुन्छ, थाहै पाएनन् ।

अहिलेको नयाँ पुस्ताले खेल्न त खेले, नतिजा भने बिरलै मात्र राम्रो निकालेका छन् । यसको कारण फेरि गोल नै हो । यस्ता खेलमा नेपाली खेलाडी गोल गर्न खुबै पछाडि छन्, यसमा अनावश्यक ‘कन्जुस्याइँ’ गर्छन् ।

नेपाल बंगलादेशसँग यस्तै दुई खेलका लागि ढाकाको बंगबन्धु रंगशालामा उत्रँदै छ । यसमध्ये पहिलो खेल आज शुक्रबार बेलुका पौने ५ बजेदेखि सुरु हुनेछ । यस्तोमा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको प्रदर्शन कस्तो छ, त्यसलाई फर्केर हेर्नु ठीकै हो । नेपालले अहिलेसम्म खेलेको ‘इन्टरनेसनल फ्रेन्ड्ली’ भनेको २२ खेल हो । सन् २००८ को मार्च २५ मा नेपालले पाकिस्तानसँग पोखरामा पहिलो यस्तो खेल खेलेको थियो । अन्तिमपल्ट भने नेपालले चाइनिज ताइपेईसँग खेलेको थियो ।

यसबीचका नेपालले जम्माजम्मी चार खेलमात्र जितेको छ । २२ खेलमा चार जितको प्रदर्शन त कमजोर नै हो । यसमा बराबरी पनि चार छ । अनि हार ? १४ खेलमा नेपालले पराजित बेहोरेको छ । यस्तोमा प्रश्न स्वाभाविक रूपमा उठ्ने गर्छ, आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको प्रदर्शन लगातार किन कमजोर छ त ? नेपालले यस्तो खेललाई ख्यालख्यालमै मात्र लिन्छ त ? या, कतै नेपालले यस्ता खेलका लागि तयारी नै गर्न जानेको छैन ?

नेपालले जित हात पारेका चार खेलमध्ये तीन जित त खाली भुटानविरुद्ध मात्र छ । एक अर्को जित पाकिस्तानविरुद्ध नै हो, जुन संयोगले नेपालको पहिलो आधिकारिक यस्तो खेलमै प्राप्त भएको थियो । तथ्यांकमै खेल्ने हो भने सन् २०१३ को फेब्रुअरी ६ मा पाकिस्तानविरुद्ध काठमाडौंमा हारेयता नेपाल २०१६ मे १६ बीचका ९ खेल लगातार गुमाएको थियो । यी कुनै पनि खेलमा नेपालले गोल गर्न सकेन । त्यसो भनेको ८ सय १० मिनेटको खेल गोल गर्न नसक्नुको खराव प्रदर्शन हो ।

यसबीच मीठो संयोग कहाँनिर छ भने नेपालले अहिलेसम्म बंगलादेशविरुद्ध दुई आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलको नतिजा उति साह्रो खराव छैन । नेपालले सन् २०१२ सेप्टेम्बर २० मा बंगलादेशको आतिथ्यता गरेको थियो र काठमाडौंमा सम्पन्न त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । नेपालले सन् २०१५ को डिसेम्बर १७ मा भने बंगलादेशविरुद्ध ढाकामा खेलेको थियो । यसमा भने नेपाल १–० को झिनो अन्तरले पराजित रह्यो ।

आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भने नामअनुसारकै हुन्छ, यस्ता खेलमा कि त टिमले लय समात्न खेलिन्छ कि नयाँ खेलाडीको परीक्षणका लागि । अथवा कुनै ठूलो प्रतियोगिताअगाडि टिमलाई आधिकारिक खेलसँग अभ्यस्त हुन् । जतिबेला बंगलादेशले नेपाललाई अबका दुई खेलमा आतिथ्यता गर्नेछ, यसका विशेषता यस्तै हुनेछन् । यस्ता खेलमा आधिकारिक प्रतियोगितामा खेले जस्तो छनक हुन्न । अहिले हुन लागेको दुई खेल पनि दुवै देशका लागि कोभिड–१९ को महामारीपछि सक्रिय खेलमा फर्कने ठोस बहाना हो ।

बंगलादेशसँग जोडिएका संयोग

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको सबैभन्दा नजिकको साथी भनेकै बंगलादेश हो । यसमा कुनै शंका छैन । बंगलादेशसँग जोडिएका नेपाली फुटबलका सम्बन्धका कथा धेरै छन्, जुन ऐतिहासिक छन् । यसलाई दोहोर्‍याएर सुन्न कर लाग्छ । जस्तो, सन् १९८४ मा नेपालले पहिलो दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेको थियो । काठमाडौंमा भएको त्यो प्रतियोगिताको फुटबल फाइनलमा नेपालले बंगलादेशमाथि ४–२ को ऐतिहासिक सफलता चुमेको थियो ।

यो नै अन्तर्राष्ट्रिय फुटबलमा नेपालको पहिलो ठूलो सफलता हो । त्यसपछि सन् १९९३ को दक्षिण एसियाली खेलकुदको प्रसंग जोडिन्छ । त्यसको फुटबल फाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा हराएर स्वर्ण जितेको थियो । यसलाई नेपाली फुटबलकै अहिलेसम्मको सबैभन्दा ठूलो सफलतामध्ये एक भन्दा फरक पर्दैन । यो सफलता कहींकतै होइन, ढाकाको बंगबन्धु रंगशालामै प्राप्त भएको हो । त्यो ऐतिहासिक सफलताका एक साक्षी खेलाडी त बालगोपाल महर्जन नै हुन् । उनी नै अहिले नेपाली टोलीका प्रशिक्षक छन् । सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबलमा पनि नेपाल स्वर्ण पदकको धेरै नजिक त पुग्यो, तर फाइनलमा पराजित भयो । सबैलाई थाहा नै छ, नेपाललाई बंगलादेशले नै हराएको थियो १–० ले ।

बंगलादेशी फुटबलले भने आफ्नो इतिहासमा सबैभन्दा सुखद क्षणमध्ये यसलाई एक मान्छ । नेपाललाई काठमाडौंमै हराएर जितेको स्वर्ण थियो त्यो । यो एक प्रकारले सन् १९८४ को फाइनलमा बेहोरेको हारको सुखद बदला पनि हो । त्यो फाइनलका एक खेलाडी थिए उनै बालगोपाल ।

र, त्यसपछि आउँछ सन् २०१६ को बंगबन्धु गोल्डकप । बंगबन्धु रंगशालामा भएको यस प्रतियोगिताको उपाधि जितेर नेपालले त्यही सन् १९९३ देखि कायम रहेको उपाधिको खडेरीमा पूर्णविराम लगाएको थियो । नवयुग श्रेष्ठले प्रतियोगिताका क्रममा माल्दिभ्सविरुद्ध गरेको ह्याट्रिक कसले मात्र भुल्न सक्छ र ? अनि कसैले यो पनि भुलेको छैन, यो टिमका प्रशिक्षक तिनै बालगोपाल हुन् । त्यसैले उनलाई जति जतिबेला बंगलादेशविरुद्ध खेल हुन्छ, नेपालका लागि उनी भाग्यमानी पनि हुन्, यो अर्को संयोग रह्यो ।

यो सबै पृष्ठभूमिमा नेपाल र बंगलादेश अन्तर्राष्ट्रिय आधिकारिक खेलमा भिड्नुपर्छ, त्यो विशेष हुने गर्छ । दुई वर्षअगाडिको एउटा खेलको पृष्ठभूमिकालाई नबिर्सौं । त्यो वर्षको साफ च्याम्पियनसिपमा नेपालले आफ्नो समूहको ‘गर या मर’ को खेलमा बंगलादेशलाई २–० ले हराएको थियो । यो नतिजाले जहाँ नेपाल आफ्नो समूहको विजेता रह्यो, त्यहीं बंगलादेश भने प्रतियोगिताबाटै बाहिरियो । संयोग त्यसै जुर्दैन, यो प्रतियोगितामा पनि नेपालका प्रशिक्षक उनै बालगोपाल थिए ।

प्रशिक्षक र कप्तान के भन्छन् त ?

दुई मैत्रीपूर्ण खेलमध्ये पहिलो प्रतिस्पर्धाको पूर्वसन्ध्यामा बिहीबार बंगलादेश फुटबल संघको ढाकास्थित कार्यालयमा प्रि–म्याच कन्फ्रेन्स पनि गरियो । त्यसमा नेपालका तर्फबाट प्रशिक्षक बालगोपाल र कप्तान किरण चेम्जोङ प्रस्तुत भए । प्रशिक्षक बालगोपालले त्यहाँ बोल्ने क्रममा सबैभन्दा पहिले बंगलादेशी सरकार र फुटबल संघलाई धन्यवाद दिन बिर्सेनन् । कूटनीतिक पारामा उनले नेपाललाई आतिथ्यता प्रदर्शन गरेको बंगलादेशको सराहना नै गरे ।

खेलमा केन्द्रित हुँदै उनले भने, ‘कोभिड–१९ को महामारीबीच नेपाली फुटबल मैदानमा फर्कन पाएको हामी सबै खुसी र उत्साही छौं । महामारीकै कारण हामीले लामो तयारीको अवसर पाएका छैनौं । तर मलाई विश्वास छ, टिमले राम्रो प्रदर्शन गर्नेछ । यी दुई खेलमा नेपालले अब खेल्नुपर्ने विश्वकप र एसिया कप छनोटको तयारीमा धेरै मदत मिल्नेछ । यस्तै नेपालले त्यसपछि खेल्नुपर्ने प्रतियोगिताका लागि पनि यो बंगलादेश भ्रमणले सहयोग गर्नेछ ।’

उनले बुधबार मात्रै आफ्ना थप एक खेलाडी कोभिड–१९ बाट संक्रमित भएको औपचारिक रूपमा पुष्टि गर्दै भने, ‘हाम्रा केही प्रमुख खेलाडी ढाका आउनु ठीकअगाडि कोभिड–१९ बाट संक्रमित भएको पाइयो । यसले हामीलाई पक्कै पनि केही अप्ठ्यारो पारेको छ । तर अहिले हामीसँग जति खेलाडी उपलब्ध छन्, त्यसमा मलाई पूरा विश्वास छ र खेलका क्रममा तिनले आफ्नो उपयोगिता सिद्ध गर्नेछन् । हाम्रा नयाँ खेलाडीका लागि यो राम्रो अवसर पनि हो । त्यसैले मैले यसपल्टको खेलको नतिजालाई धेरै महत्त्व दिइरहेको छैन ।’

प्रशिक्षक महर्जनले अहिले टिम जुन स्थितिबाट गुज्रिरहेको छ, त्यो महामारीबीच सबैले सामना गरेको अवस्था नै रहेको हुनाले यसमा धेरै जोड दिन नहुने दाबी गरे । उनले यसलाई चुनौती र अवसर दुवैका रूपमा अगाडि आएको माने ।

कप्तान किरणले सबैभन्दा पहिले नेपाललाई दुई खेलको निम्तो दिएकोमा बंगलादेशलाई धन्यवाद दिए । उनले थपे, ‘हामीले छोटो समयकै तयारीमा खेल्न पाइरहेका छौं, त्यसैले खेलाडी सबै खुसी नै छन् ।’उनले अगाडि भने, ‘लामो समयदेखि हामीले फुटबल खेल्न पाइरहेका थियौं, त्यसैले फुटबलमा फर्कन पाउनु नै आफैंमा पहिलो खुसी हो । यी दुई खेलले नेपाली फुटबललाई मात्र होइन, बंगलादेशको फुटबललाई पनि धेरै मदत गर्नेछ, त्यसैले नेपालको यो बंगलोदश भ्रमणको ठूलो महत्त्व छ । मलाई पूरा विश्वास छ, यी दुई खेल उत्तिकै रोमाञ्चक र बलियो प्रतिस्पर्धाबीच चल्नेछ । त्यसैले हामी शुक्रबारको खेलका लागि पूर्णतः तयार छौं । हामी बलियो चुनौती पेस गर्न पनि सक्षम छौं ।’

बंगलादेशी टिमका इंग्लिस प्रशिक्षक जेमी डेले आफ्नो उद्देश्य जित नभएको बताएका छन् । उनले भनेका छन्, ‘हामी अबका दुई खेलमा पूर्णतः जितका लागि केन्द्रित हुने छैनौं, तर हामी पक्कै दुवै खेल जित्न चाहन्छौं । अहिले हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि भनेकै मैदानमा फर्कन पाउनु हो । कोभिड–१९ बीच यसै खेलबाट बंगलादेशमा फुटबल फर्कंदै छ । यिनै दुई खेलको मदतबाट हामी अर्को वर्षलाई तयारी सुरु गर्न चाहन्छौं ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको