News Desk
काठमाडौँ — कार्तिक २८, २०७७।
विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपि पेस गर्न आदेश गरेको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले शर्माको अभियोगको अनुसन्धान कहाँ पुग्यो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जवाफसमेत मागेको छ।
अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो। तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध दुईवटा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तीमध्ये एउटा राजस्व चुहावट र अर्को गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित छन्। यसअघि अदालतले मागेको विवरण शर्माले पेस गरेका छन्।
शर्माविरुद्ध अख्तियारले कर फस्र्योट आयोगमा सदस्यसचिव रहँदा एक अर्ब राजस्व हिनामिना गरेको अभियोगपत्र दायर गरेको थियो। त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए। त्यसलगत्तै अख्तियारले परिवारको नाममा सम्पत्ति लुकाएको भन्दै अर्को मुद्दा दर्ता गरेको थियो। शर्मालाई ४५ वटा करदाताको बक्यौता मिनाहा गरेको लगायतको आरोप लागेको छ। त्यसै विषयमा अनुसन्धानको जवाफ पेस गर्न विशेषले आदेश गरेको आजको नागरिक दैनिकमा खवर छ ।