प्लेयर्स टु वाच : वेल्सका आरोन राम्से र इटालीका सिरो इमोबाइल
News Desk
Jun-16 , 2021 तारिख 04:07 बेलुका

काठमाडौं — असार २, २०७८।

युरो २०२० अन्तर्गत बुधबार ३ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ६ : ४५ बजे सेन्ट पिटर्सबर्गमा फिनल्यान्डविरुद्ध रुसले प्रतिस्पर्धा गर्नेछ । त्यस्तै राति ९ : ४५ बजे बाकुमा टर्कीविरुद्ध वेल्स र १२ : ४५ मा रोममा हुने खेलमा इटालीविरुद्ध स्विजरल्यान्डले प्रतिस्पर्धा गर्नेछ ।

आजको 'प्लेयर्स टु वाच' मा हामीले वेल्सका आरोन राम्से र इटालीका सिरो इमोबाइललाई छानेका छौं ।

आरोन राम्से (वेल्स)

सुरुआती खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको वेल्सलाई नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन टर्कीलाई हराउनैपर्ने हुन्छ । टर्कीविरुद्ध वेल्सले मध्यक्षेत्रमा सबैभन्दा धेरै आस आरोन राम्सेबाट गर्नेछ । युभेन्ट्सका ३० वर्षे अनुभवी मिडफिल्डर वेल्सका प्रतिभाशाली खेलाडीमध्ये एक हुन् । तर, उनले देशका लागि योगदान गर्न बाँकी छ ।

राम्सेले आफ्नो करिअरको अधिकांश समय आर्सनलमा बिताए । जहाँ उनी मध्यक्षेत्रमा आफ्नो आक्रामण शैलीका कारण प्रख्यात भए । बल लिएर अघि बढ्ने उनको कलाले मन्त्रमुग्ध बनाउँछ । महत्त्वपूर्ण पास निकाल्न उनी माहिर मानिन्छ । सन् २००८ मा डेब्यु गरेका उनले त्यसयता ६४ खेलमा १६ गोल गरेका छन् ।

सिरो इमोबाइल (इटाली)

टर्कीमाथि ३–० को जितसाथ इटालीले युरो २०२० को सुरुआत गर्दाका गोलकर्ता हुन्, सिरो इमोबाइल । युरोपका पछिल्लो सिजनका सबैभन्दा सानदार स्ट्राइकरमध्ये एक इमोबाइलले लाजियोबाट ३६ गोल गरी सिरी ‘ए’ मा गोल्डेन बुट जितेका थिए । लाजियोबाट पछिल्लो ५ सिजनमा १ सय ५० भन्दा बढी गोल गरेबाट उनको क्षमता पुष्टि हुन्छ । उनैले यो संस्करणमा अग्रपंक्तिको मुख्य जिम्मेवारी पाएका छन् ।

उनको मुभमेन्ट उत्कृष्ट छ भने फिनिसिङ उच्चस्तरको छ । क्लबस्तरको प्रदर्शन तुलनामा राष्ट्रिय टोलीबाट उनको तथ्यांक सुस्त छ । सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता उनले ४७ खेलमा १४ गोलमात्र गरेका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको