वेम्बलीमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच अर्थपूर्ण खेल
News Desk
Jun-18 , 2021 तारिख 02:56 बेलुका

लन्डन —  असार ४, २०७८। एएफपी

विश्व फुटबलमा सबैभन्दा पुरानो प्रतिद्वन्द्वितामा पर्छ, इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको खेल । युरो २०२० को समूह ‘डी’ मा जतिबेला यी दुई टिम मैदान उत्रन्छन्, त्यो प्रतियोगिताकै एक महत्त्वपूर्ण र बहुप्रतीक्षित खेल हुनेछ ।

यी दुई टिमबीचको प्रतिद्वन्द्विता जति नै पुरानो भए पनि वेम्बलीमा शुक्रबार हुने खेल अझ बढी अर्थपूर्ण रहनेछ । यी दुई टिम सन् १९९६ यता पहिलोपल्ट कुनै ठूलो प्रतियोगितामा भिड्दैछन् । सन् १८७२ मा यी दुई टिम पहिलोपल्ट भिडेका थिए ।

इंग्ल्यान्डले समूहको आफ्नो पहिलो खेलमा क्रोएसियालाई हराएको थियो । यहीं स्कटल्यान्डलाई हराउन सक्छ भने टिमले लगभग नकआउट चरणको यात्रा तय गर्नेछ । त्यसैले इंग्ल्यान्डको रणनीति यही हुनेछ जित । यहाँ प्रश्न के रहेको छ भने स्कटल्यान्डले इंग्ल्यान्डलाई स्तब्ध पार्न सक्छ त ? यदि यस्तो हुन्छ भने स्कटल्यान्डको अगाडि बढ्ने सम्भावना त जीवन्त राख्छ नै । समूहको समीकरण थप रोमाञ्चक हुनेछ ।

क्रोएसियामाथि जित हात पार्नेक्रममा इंग्ल्यान्डले युरोको उद्घाटन खेलमा निकालेको यो नै पहिलो जित थियो । योसँगै इंग्ल्यान्डले आफ्नो अपराजित यात्रालाई सात खेल पुर्‍याएको छ । त्यसैले इंग्ल्यान्ड चाहन्छ यो जितको क्रम जारी रहोस् । स्कटल्यान्डले चेकविरुद्ध बेहोरेको हार पनि धेरै अर्थमा पीडादायी थियो । किनभने उसले खेलमाथि लगभग आफ्नो नियन्त्रण राखेर पनि गुमाउनुपरेको थियो । त्यसैले स्कटल्यान्ड यो हार बिर्सेर इंग्ल्यान्डमाथि जित चाहन्छ ।

स्विडेनविरुद्ध स्लोभाकिया

सेन्ट पिटर्सबर्ग– स्विडेनको वाचा छ, युरो २०२० मा शुक्रबार स्लोभाकियाको सामना गर्दा बलमाथि बढी नियन्त्रण राखेर खेल्ने छ । भएछ के भन्दा समूह ‘ई’ को आफ्नो पहिलो खेलमा स्विडेनले स्पेनको सामना गर्दा बलमाथिको नियन्त्रण १५ प्रतिशतमात्र थियो । युरो इतिहासमै यति बिर्सनालयक प्रदर्शन कसैको थिएन । स्पेनले जहाँ ९ सय १७ पास खेलेको थियो, त्यहीं स्विडेनले १ सय ६१ पासमात्र खेल्यो । तर यही रणनीतिमा स्विडेनले स्पेनलाई गोलरहित बराबरीमा रोक्न सफल रह्यो ।

जतिबेला स्विडेन दोस्रो खेलमा उत्रनेछ, टिमले रणनीति फेर्नेछ । एक प्रकारले स्विडेन पहिलो खेलको नतिजामा उत्साही नै छ । तर स्लोभाकिया आफ्नो पहिलो खेललाई लिएर अझ बढी उत्साही छ, किनभने उसले पोल्यान्डलाई स्तब्ध पारेको थियो । यदि स्लोभाकियाले स्विडेनलाई हराउने हो भने नकआउट यात्रा निश्चित हुनसक्छ । त्यसैले स्लोभाकिया जितेको यही स्पष्ट रणनीति लिएर उत्रनेछ ।

क्रोएसियाविरुद्ध चेक गणतन्त्र

ग्लास्गो– युरो २०२० मा कायम रहने हो भने क्रोएसियाले समूह ‘डी’ मा शुक्रबार हुने आफ्नो दोस्रो खेलमा जित निकाल्नुपर्ने हुन्छ । यसपल्ट उसको प्रतिद्वन्द्वी छ चेक गणतन्त्र । क्रोएसिया इंग्ल्यान्डविरुद्धको खेलमा १–० ले पराजित भएको थियो । तर विश्वकपको उपविजेता टिमका लागि सबै बाटो बन्द भएको भएको छैन । क्रोएसियालाई एउटा तथ्यमा के विश्वास छ भने समूहको अर्को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई हराउने छ ।

त्यसैले क्रोएसियाले दोस्रो चरण पुग्ने सपना बुन्न छाडेको छैन । चेक गणतन्त्रले अर्को खेलमा स्कटल्यान्डलाई दुई गोलले हराएको थियो, त्यसैले यो टिम लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । यो टिमले विश्वास गर्नेछ, इंग्ल्यान्ड अर्को खेलमा विजयी रहनेछ । यही नतिजामा टिकेर चेकले पनि क्रोएसियालाई हराउन सक्छ भने यिनै दुई टिमले नकआउट चरणको यात्रा तय गर्नेछ । जतिबेला दुवै टिम जित्नलाई खेल्नेछ, यस्तो खेल रोमाञ्चक हुन्छ नै ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको