सहज मुडमा बेल्जियम
News Desk
Jun-21 , 2021 तारिख 02:09 बेलुका

सेन्ट पिटर्सबर्ग — असार ७, २०७८। एपी

विश्व नम्बर एक बेल्जियम युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा पुगिसकेको छ । त्यसैले टोली फिनल्यान्डसँगको समूहको अन्तिम खेललाई सहज रूपमा लिन चाहन्छ । 

फिनल्यान्डलाई अन्तिम १६ मा पुग्न त्यति सहज छैन । पछिल्ला दिनमा बेल्जियम क्याम्पबाट आएका समाचारले टोली झनै आत्तिएको जस्तै भएको छ । बेल्जियमले सोमबार हुने खेलमा आफ्ना तीन प्रमुख खेलाडी केभिन डी ब्रुयन, इडेन हाजार्ड र एसेल विटसेललाई ओराल्ने योजना बनाइरहेको छ । यसले फिनल्यान्डका प्रशिक्षक मार्कु कानेर्भाले कसरी लिन्छन् भन्ने कल्पना गर्न सकिन्छ ।

त्यसमा अझ पहिलो रोजाइका स्ट्राइकर रोमेलु लुकाकुले आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना छ । किनभने उनी प्रतियोगिताको उच्च स्कोरर बन्ने दाउमा छन् । रक्षापंक्ति अझ मजबुत छ बेल्जियमको । यान भर्टोन्घन, थोमस भेर्मालिन र टोबी एल्डरवेइल्डको जब्बर रक्षापंक्ति तोड्न फिनल्यान्डलाई सजिलो हुने छैन । संक्षेपमा भन्ने हो भन्ने बेल्जियमले केही छाड्ने देखिँदैन ।

‘हामी यहाँ जतिसक्दो राम्रो हुनका लागि छौं,’ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, ‘त्यसको मतलब हामीले सबै खेल जित्नकै लागि प्रयास गर्नेछौं ।’ उनले लुकाकुबारे अन्तिममा मात्र निर्णय लिनेछन् । डेनमार्कलाई बेल्जियमले २–१ ले पराजित गर्दा उनले पुरै खेल खेलेका थिए । त्यसैले उनले कसरी आरामको समय प्रयोग गरिरहेका छन् त्यसमा मार्टिनेजको ध्यान छ ।

मार्टिनेजले फिनल्यान्डसँगको खेलमा डी ब्रुयन, हाजार्ड र विटसेलको फिटनेस परीक्षण गर्न चाहन्छन् । पछिल्लो समयमा यी तीन खेलाडीको फिटनेसमा समस्या रहँदै आएको छ । यी तिनै खेलाडीलाई डेनमार्कसँग दोस्रो हाफमा मैदानमा उतारिएको थियो । गत महिना चेल्सीसँग च्याम्पियन्स लिगको फाइनलमा डी ब्रुयनलाई चोट लाग्यो, जसका कारण उनले अनुहारको सामान्य शल्यक्रिया गर्नुपरेको थियो । दोस्रो हाफमा आएर म्यानचेस्टर सिटीका मिडफिल्डर डी ब्रुयनले एक गोल गर्नुका साथै अर्को गोलमा पास उपलब्ध गराएका थिए ।

‘डेनमार्कसँग खेल्नुअघि प्रशिक्षकले मलाई बैकल्पिकमा राख्न चाहेको र पछि मात्र मैदानमा ल्याउने तथा फिनल्यान्डसँगको खेलमा सुरुदेखि खेलाएर लय समाउने बताएका थिए,’ डी ब्रुयनले शनिबार भनेका थिए, ‘अहिले मेरा लागि यही नै उत्तम हो ।’ फिनल्यान्डका लागि भने यो खबर उत्तम होइन । ‘यसलाई हामी हार्दिकताका रूपमा लिनेछौं,’ बेल्जियमले पूर्ण टोली उतार्न लागेको बारेमा फिनिस प्रशिक्षक कानेर्भाले भने ।

पहिलो पटक प्रमुख प्रतियोगिता खेलिरहेको फिनल्यान्डलाई दोस्रो चरण पुग्न यस खेल बराबरी गरे पुग्न सक्छ । समूह ‘बी’ मा डेनमार्कलाई १–० ले पराजित गरेको फिनल्यान्ड रुससँग त्यही स्कोरमा पराजित भएको थियो । रुसले सोमबारै अर्को खेलमा डेनमार्कको सामना गर्नेछ । आफूअनुकूल नतिजा ल्याएमा रुस दोस्रो चरण पुग्नेछ । फिनल्यान्ड र रुसको समान ३ अंक छ । डेनमार्क दुवै खेलमा पराजित छ ।

थप सुधारको अपेक्षामा डच

एम्स्ट्रडम (रोयटर्स)– नेदरल्यान्ड्सले आफ्नो समूहको शीर्षस्थान पक्का गरिसकेको छ । सोमबार युरो २०२० मा उत्तरी मेसेडोनियाविरुद्ध हुने खेलमा डच प्रशिक्षक फ्रान्क डी बोएरले टोलीको प्रदर्शनमा अझ सुधार हुने अपेक्षामा दुई खेलाडी परिवर्तन गरिने जनाएका छन् ।

नेदरल्यान्ड्सले युक्रेन र अस्ट्रियाविरुद्धको दुवै खेल जितेको थियो भने मेसेडोनिया दुवै खेलमा पराजित भएकाले यस खेलको नतिजाले कुनै अर्थ राख्ने छैन । त्यसै कारण डी बोएरले नियमित खेलाडीलाई विश्राम दिएर वैकल्पिक खेलाडीलाई मौका दिने चर्चा चलेको छ । योहान क्राएफ एरिनामा समूह ‘सी’ को अन्तिम खेलअघि डी बोएरले दुई खेलाडीमात्र परिवर्तन हुने निश्चित गर्दै खेलाडीको नाम भने बताएनन् । बरू उनले त्यो परिवर्तन टिमको प्रदर्शन सुधार्न हुन लागेको पत्रकार सम्मेलनमा जनाए । उनको टोलीले युक्रेनसँगको खेलमा दुई गोलको अग्रता कायम राख्न सकेको थिएन भने अस्ट्रियासँग केही सुस्त देखिएको थियो ।

‘सबै राम्रो लयमा हुनुपर्छ । अस्ट्रियाविरुद्धको खेलमा हामीले अझ राम्रो बल नियन्त्रण राख्न सक्नुपर्थ्यो । अग्रपंक्ति अझै चुस्त हुनुपर्थ्यो, मेसेडोनियासँगको खेलमा हामी यो सुधार गर्न लागेका छौं,’ डी बोएरले भने । उनले आफ्नो ५–३–२ को रणनीतिमा अडिग रहेको जनाएका छन् । उनले तीन रक्षक खेलाएर दुवै साइडमा विंग्स ब्याक खेलाएका थिए, जसले नेदरल्यान्ड्सको पहिलो दुई खेलमा राम्रो प्रभाव पारेका थिए ।

‘प्रणाली उस्तै रहनेछ, किनभने हामीले राम्रो खेल्नुपर्नेछ, तर हामी अझ आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्नेछ,’ डी बोएरले थपे, ‘हामीसँग अन्तिम १६ को खेलअगाडि आराम गर्न यो खेलपछि पर्याप्त समय हुनेछ । अन्यथा आराम गर्ने समय लामो हुनेछैन ।’ अग्रपंक्तिका खेलाडी मेम्फिस डिपेले शनिबार बार्सिलोनासँग सम्झौता गरेर भविष्य सुरक्षित गरेकामा डी बोएरलाई राहत मिल्यो । उनले भने, ‘मलाई लाग्छ, यो त उन (डिपे) लाई पनि राहत नै हो ।’

पहिलो पटक प्रमुख प्रतियोगितामा खेलिरहेका मेसेडोनियाले अस्ट्रिया र युक्रेनसँगको पहिलो दुई खेलमा पराजित भइसकेकाले टोली समूह चरणबाटै बाहिरिइसकेको छ । युक्रेन र अस्ट्रिया पनि त्यही मेसेडोनियासँगको जित लिएर सोमबार एक आपसमा भिड्दैछन् । जित्ने टोलीको नकआउट चरण सुरक्षित हुनेछ । बराबर भएमा दुवै टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना रहन्छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको