News Desk
साउथह्याम्पटन — असार ९, २०७८। एजेन्सी
न्युजिल्यान्डले बुधबार भारतलाई छैटौँ दिन ८ विकेटले पराजित गरेर विश्व टेस्ट च्याम्पियनसिप जितेको छ ।
छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र उसले लगातार क्याच छाडेको थियो । न्युजिल्यान्डले त्यसको फाइदा उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो ।
न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रनमा नटआउट रहे । यस्तै रस टेलरले ४७ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी गरे । उनीहरूले दुई विकेट गुमाएर ४४ रनको स्थितिबाट न्युजिल्यान्डलाई शानदार जितसम्म पुर्याएका थिए ।
यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ७० रन बनाएर अलआउट भएको थियो । भारतले दुई विकेट गुमाएर ६४ रनबाट अगाडि खेल्न सुरु गरेको थियो र खासै ठूलो लक्ष्य निर्धारण गर्न सकेन् । अघिल्लो दिन नटआउट रहेकामध्ये कप्तान विराट कोहलीले १३ रन मात्र बनाउन सके भने चेतेश्वर पुजाराले १५ रन जोडे ।
भारतका लागि ऋषभ पन्तले बनाएको ४१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै रवीन्द्र जडेजाले १६ र मोहम्मद सामीले १३ रन बनाए । न्युजिल्यान्डका बलरमध्ये टिम साउथी सर्वाधिक घातक रहे र उनले ४८ रन खर्चिएर चार विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले तीन र केली जेमिसनले एक विकेट लिए ।
(कान्तिपुर दैनिक)