डचविरुद्धको इतिहास चेकको पक्षमा
News Desk
Jun-27 , 2021 तारिख 11:14 बिहान

बुडापेस्ट — असार १३, २०७८। एएफपी

चेक गणतन्त्रले युरो २०२० को अन्तिम १६ मा आइतबार नेदरल्यान्ड्सको सामना गर्दा कम्तीमा एक तथ्य उसको पक्षमा हुनेछ । त्यो हो, इतिहास । दुई देशबीच एकअर्काविरुद्धको खेलमा चेक नै अगाडि छ । सन् १९९३ मा चेक अलग्गै देश भएयता दुई टिमबीचको खेलमा ५ जित निकालेको छ ।

तीनपल्ट डच टिमले जितेको छ । तीन खेल बराबरीमा टुंगिएको छ । सन् १९७६ मा तत्कालीन चेकोस्लाभाकियाले युरोपेली उपाधि जित्नेक्रममा सेमिफाइनलमा नेदरल्यान्ड्सलाई नै हराएको थियो ।

त्यो खेलमा नेदरल्यान्ड्सका योहान क्राएफ जस्ता खेलाडीले भरिएको थियो, तर चेकोस्लाभाकिया अतिरिक्त समयमा ३–१ ले विजयी रह्यो । सन् १९८८ मा नेदरल्यान्ड्सले युरो जित्दा भने चेकोस्लाभाकियाले रोक्ने अवसर पाएन । चेक समर्थक सन् २००४ को युरो सम्झन्छन्, जसमा २ गोलले पछाडि रहेको स्थितिमा चेकले नेदरल्यान्ड्सलाई ३–२ ले हराएको थियो । त्यतिबेलाको चेक टिम आफैंमा स्टार खेलाडीले भरिएको थियो ।

जस्तो कि पिटर चेक, पाभेल नेडभेड, टोमस रोस्की, जान कोलर, मिलान बारोस, टोमस गालास्क आदि आदि । सन् २००४ को युरोमा दुवै टिम सेमिफाइनल पुगे, तर फाइनल पुग्न सकेनन् । चेक विजेता ग्रिससँग पराजित भयो, त्यो पनि सिल्भर गोलले । तर अहिलेको खेलमा चेक भने नेदरल्यान्ड्ससँग अन्डर डग नै रहनेछ । यस्तै मान्छन्, सहायक प्रशिक्षक जिरी चाट्री ।

उनी भन्छन्, ‘हामी मान्छौं, नेदरल्यान्ड्स बलियो शीर्ष टिम हो । डचलाई उपाधिकै लागि बलियो मानिएको छ ।’तर उनको यो दाबी छ, ‘जतिबेला चेकले आफ्नो सक्दो राम्रो खेल खेल्छ, कुनै पनि टिमको सामना गर्न हामी तयार हुने गर्छौं ।’ उनले भने जस्तै नेदरल्यान्ड्स वास्तवमै बलियो टिम हो । त्यसैले त उसले लिग चरणका सबै तीन खेल सजिलै जितेको छ भन्दा हुन्छ । त्यसैले टिमका समर्थकमात्र होइनन्, खेलाडी पनि उत्तिकै आत्मविश्वासी भएको हुनुपर्छ । प्रशिक्षक फ्रान्क डी बोएरले अहिलेका डच टिमलाई वास्तवमै बलियो बनाएका छन् ।

समूह ‘सी’ मा एम्स्ट्रडममा खेलेका सबै खेल जितेपछि अहिले डच फुटबल फेरि गाढा सुन्तला रंगको भएको छ । उसले बुडापेस्टको पुस्कास एरिनामा खेल्दा चेकलाई पक्कै कमजोर मान्न सक्ने छैन । यसको कारण अरू केही होइन, इतिहास नै हो । तर डच कप्तान जर्जिनियो विज्नाल्डम इतिहास फर्केर हेर्न चाहँदैनन्, चेकलाई धेरै महत्त्व दिएर हेर्नुपर्ने पनि मान्दैनन् । उनी भन्छन्, ‘हंगेरीविरुद्ध जर्मनीले कस्तो खेल्नुपरेको थियो, त्यो सबैलाई थाहा छ । चेक फुटबलमा राम्रो छ, त्यही तथ्य ध्यानमा राखेर खेल्नेछौं ।’

(कान्तिपुर दैनिक)

धेरै पढिएको