News Desk
काठमाडौं — असार १३, २०७८।
युरो २०२० अन्तर्गत राउन्ड प्रिक्वार्टरफाइनल खेलमा आइतबार पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्रले बुडापेस्टमा ९:४५ बजे प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, राति १२ : ४५ बजे सेभियामा बेल्जियमविरुद्ध पोर्चुगलले प्रतिस्पर्धा गर्नेछ ।
आजको 'प्लेयर्स टु वाच' मा हामीले नेदरल्यान्डसका डेली बिलिन्ड र पोर्चुगलका डिएगो जोटालाई छानेका छौं ।
डेली बिलिन्ड (नेदरल्यान्ड्स)
एक समय बिलिन्ड फुटबल नै नखेल्ने स्थितिमा पुगेका थिए । सन् २०१९ मा उनमा मुटुको समस्या देखिएको थियो । गत वर्ष अयाक्सबाट भ्यालेन्सियाविरुद्ध च्याम्पियन्स लिगमा खेल्दा पेसमेकरले काम गर्न छोडेपछि उनी मैदानमै ढलेका थिए । जारी युरोमा डेनमार्कका क्रिस्टियन एरिक्सनमा यस्तै समस्या देखिँदा ३१ वर्षे बिलिन्ड खेल्ने कि नखेल्ने अन्यौलमा थिए । तर उनले युरोमा तीन खेल खेलिसके । उनी लेफ्टब्याकमा खेल्छन् । डच शैलीअनुसार मुख्य तीन रक्षकको भूमिकामा उनले आफूलाई अभ्यस्त बनाइसकेका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीले राष्ट्रिय टोलीबाट ८१ खेल खेलिसके । २०१४ विश्वकपको सेमिफाइनल पुगेको डच टोलीबाट अहिले युरो खेलिरहेका थोरैमध्ये एक हुन् उनी ।
डिएगो जोटा (पोर्चुगल)
पोर्चुगलको फुटबलमा छोटो समयमै प्रभाव जमाएका खेलाडी हुन् जोटा । २४ वर्षे उनले पोर्चुगलबाट १८ खेलमा ७ गोल गरिसकेका छन् । यस युरोमा उनले समूह चरणका सबै ३ खेलमा खेले । जर्मनीविरुद्ध उनले क्रिस्टियानो रोनाल्डोलाई एक गोलमा पास मिलाइदिए भने अर्को गोल आफैंले गरेका थिए । २०१९ को नोभेम्बरमा उनले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका थिए । उल्भरह्याम्पटनबाट प्रिमियर लिगमा राम्रो प्रभाव देखाएपछि उनी गत वर्षको सुरुआतमा ४ करोड पाउन्डभन्दा बढीमा लिभरपुल गएका थिए । चोटका कारण लामो समय मैदानबाहिर रहेका उनले लिभरपुलबाट गत सिजनमा १९ खेलमा ९ गोल गरेका थिए ।
(कान्तिपुर दैनिक)