फ्रान्सको नजर अझ अगाडि
News Desk
Jun-28 , 2021 तारिख 09:56 बिहान

बुडापेस्ट — असार १४, २०७८। एपी

विश्व च्याम्पियन फ्रान्सका लागि युरोपेली विजेतासम्मिलित कठिन समूहको शीर्षस्थानमा रहनु आफैमा ठूलो आश्चर्य रहेको छैन । तर समूहमा एकै खेल मात्र जित्न सक्नु भने टोलीका लागि आश्चर्य रहेको छ ।

यही प्रदर्शनले फ्रान्सलाई समूह ‘एफ’ को विजेता बनायो र अन्तिम १६ चरणमा पुर्‍यायो । अब फ्रान्सले सोमबार नकआउट चरणमा स्विट्जरल्यान्डको सामना गर्दै छ । फ्रान्सको नजर छ, त्योभन्दा अगाडि बढ्ने ।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले घोषणा गरिरहेका छन्, ‘हाम्रा लागि अब नयाँ प्रतियोगिता सुरु भएको छ ।’ केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र करिम बेन्जेमाका रूपमा डेसच्याम्पसँग आक्रमणको पर्याप्त विकल्प छ । यो आक्रमणले फ्रान्स विश्वकपपछि युरोपेली उपाधि जित्न सक्षम देखिन्छ । सन् १९९८ को विश्वकप विजेताले सन् २००० को युरोमा पनि यस्तो सफलता हात पार्न सकेको थिएन । बेन्जेमा र एमबाप्पेले अहिले छिटो–छिटो पास खेलिरहेका छन् । पालैपालो आफ्नो स्थान फेरिरहेका छन् । उनीहरूको ठीकअगाडि ग्रिजमन छन्, ठोस खेलाडीका रूपमा । तर उनीहरू कसैले पनि जर्मनीविरुद्ध प्राप्त १–० ले जितमा गोल गर्न सकेनन् । बरू म्याट्स हमल्सको आत्मघाती गोल नै निर्णायक रह्यो । ग्रिजमनले हंगेरीविरुद्धको १–१ को बराबरीमा भने गोल गरे । पोर्चुगलविरुद्धको २–२ बराबरीमा भने दुवै गोल बेन्जेमाले गरेका थिए । उनी लगभग ६ वर्षपछि फ्रान्सेली टिमका लागि खेलिरहेका छन् । फ्रान्सका प्रमुख खेलाडी रहेका पाउल पोग्बा भन्छन्, ‘हामीलाई थाहा छ, हाम्रो प्रदर्शनमा अझै सुधार आवश्यक छ ।’

स्विट्रल्यान्डको आफ्नै संघर्षको कथा छ, विशेषतः इतिहासलाई लिएर । स्विस टिमको सबैभन्दा ठूलो तगारो हो, ठूला प्रतियोगिताका पछिल्ला तीन संस्करणमा लगातार अन्तिम १६ बाटै आफ्नो चुनौती समाप्त हुनु । समग्रमा भन्दा पछिल्लो ६७ वर्षको इतिहासमा स्विस टिमले ठूला प्रतियोगिताको नकआउट चरणमा कुनै खेल जित्न सकेको छैन ।

स्विट्जरल्यान्ड समूह ‘ए’ को तेस्रो स्थानमा रहेर नकआउट चरण पुगेको थियो । टोलीसँग ४ अंक थियो । स्विट्जरल्यान्ड तेस्रो स्थानमा रहेका उत्कृष्ट चार टिमका रूपमा अन्तिम १६ मा पुगेको हो । वेल्ससँग १–१ को बराबरीपछि स्विस टिम इटालीविरुद्ध ३–० ले पराजित रह्यो । अन्तिम खेलमा भने स्विसले टर्कीमाथि ३–१ को जित निकाल्यो । प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्डले अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन । सन् २०१६ को युरोमा यी दुई टिमले गोलरहित बराबरी खेलेका थिए ।

स्पेनविरुद्ध क्रोएसिया

कोपनहेगन– स्पेनले युरो २०२० को अन्तिम १६ मा सोमबार क्रोएसियाको सामना गर्दा डानी ओल्मोका लागि सबै विपक्षी खेलाडी परिचित नै रहनेछ । खासमा यस प्रतियोगितामै उनले स्पेनका लागि नभएर क्रोएसियाका लागि पनि खेल्न सक्थे । डिनामो जाग्रेभबाट १६ वर्षको उमेरमा उनी बार्सिलोनाको एकेडेमी पुगेका थिए । उनले माथिल्लो स्तरमा स्पेनी क्लबका लागि भने खेलेनन्, जर्मनीको आरबी लाइप्जिगमा आबद्ध भए । तर उनलाई स्पेनका लागि खेल्ने निर्णयमा कुनै अपसोच छैन ।

यी २३ वर्षीय खेलाडी प्रशिक्षक लुइस एनरिकेको नयाँ स्वरूपको स्पेनी टिमका मुख्य खेलाडीमध्ये एक हुन् । क्रोएसियाको सामना गर्दा उनको एउटा थप भूमिका हुनेछ, आफ्नो प्रशिक्षकलाई विपक्षी टिमको गोप्य तथ्य जानकारी गराउने । क्रोएसियाका लागि अर्को एउटा ठूलो समस्या रहेको छ । त्यो हो, स्पेनविरुद्ध इभान पेरिसिचको अनुपस्थिति । उनी कोभिड–१९ को संक्रमणबाट ग्रस्त भएपछि १० दिनको आइसोलेसनमा छन् । उनले समूह चरणमा २ गोल गरेका थिए ।

स्पेन र क्रोएसियाले समूह चरणको अन्तिम तथा निर्णायक क्षणमा लय समातेका हुन् । आफ्नो अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५–० ले हराएको थियो । क्रोएसियाले पनि स्कटल्यान्डमाथि अन्तिम खेलमा ३–१ ले नतिजा निकालेको थियो । क्रोएसियाले तीन वर्षअगाडि विश्वकपको फाइनल यात्रा तय गरेको थियो । त्यतिबेलाका १३ खेलाडी अहिलेको क्रोएसियाली टिममा छन् । सन् २००८ देखि २०१२ बीच तीन ठूला उपाधि जितेको स्पेनको खेल भने पछिल्लो समय केही खस्केको मानिन्छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको