लिभरपुलका पूर्वप्रशिक्षक बेनिटेज एभर्टनमा
News Desk
Jul-01 , 2021 तारिख 12:17 बेलुका

लिभरपुल —  असार १७, २०७८। एएफपी

एभर्टनले बुधबार राफेल बेनिटेजलाई आफ्नो नयाँ व्यवस्थापक नियुक्त गरेको छ । बेनिटेज एभर्टनको पारम्परिक छिमेकी प्रतिद्वन्द्वी लिभरपुलका पूर्व व्यवस्थापक समेत हुन् । त्यसैले यो अनुबन्ध सनसनीपूर्ण र विवादास्पद रहेको छ । स्पेनी ६१ वर्षीय प्रशिक्षक बेनिटेजले एभर्टनसँग तीन वर्षको अनुबन्ध गरेको छ ।

रियल म्याड्रिड जाने यसअघिका व्यवस्थापक कार्लो एन्सेलोटीले राजीनामा दिएपछि एभर्टनमा व्यवस्थापक पद खालि भएको हो । बेनिटेजले सुरुआती प्रतिक्रिया दिने क्रममा भनेका छन्, ‘एभर्टनसँग आवद्ध हुन पाएकोमा म निकै खुसी छुं । मलाई पूरा विश्वास छ, एभर्टन अहिले महत्त्वकांक्षी छ र अगाडि बढ्न चाहन्छ ।’

उनले थपेका छन्, ‘एभर्टनले तय गरेका उद्देश्यलाई प्राप्त गर्नका लागि मैले सक्दो भूमिका खेल्नेछुं ।’ बेनिटेजले अन्तिम पटक सन् २०१९ मा अर्को इंग्लिस प्रिमियर लिग न्युकासल युनाइटेड सम्हालेका थिए । त्यो वर्षको जुनमा उनले न्युकासल छाडेका थिए । त्युसपछि उनी चीनको डालिन एफसीको प्रशिक्षक बने । त्यहाँ उनले १८ महिना बिताएपछि क्लब छाडे ।

एभर्टनका सबैभन्दा बढी सेयर भएका फराहद मोसिरीले भनेका छन्, ‘हामी बेनिटेजबाट निकै प्रभावित छौं । उनी निकै अनुभवी र फुटबलबारे धेरै ज्ञान भएका प्रशिक्ष हुन् । त्यो भन्दा पनि ठूलो उनले क्लबमा आवद्ध हुने भोक र उद्देश्य देखाएका छन् । क्लबलाई अझ सफल बनाउन नै हामीले उनलाई नियुक्त गरेका हौं ।’

यस्तै उनले प्रतिक्रिया दिएका छन्, ‘हामी इंग्लिस र युरोपेली फुटबलको माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छौं । हामी उपाधि पनि जित्न चाहन्छौं । त्यसैले बेनिटेजलाई नियुक्त गरको छौं । उनीसँग फुटबल प्रशिक्षणको बाक्लो अनुभवछ ।’ १८९० मा एभर्टनका संस्थापक पनि रहेका व्यवस्थापक विलियम एडवार्डो बारक्लेले लिभरपुल स्थापना गरेर उतै गएका थिए ।

त्यसपछि अहिले बेनिटेज लिभरपुलको व्यवस्थापक रहिसकेर एभर्टन जाने पहिलो व्यवस्थापक हुन् । अहिलेसम्म बारक्ले नै लिभरपुल सहरका दुवै क्लब सम्हाल्ने पहिलो र एक मात्र व्यवस्थापक हुन् । अब त्यसमा बेनिटेजको नाम पनि थपिनेछ । बेनिटेजको नियुक्तीलाई लिएर भने एभर्टनका समर्थकबाट मिश्रित प्रतिक्रिया आएको छ ।

२००७ को फेब्रवरीमा भएको मर्सिसाइड डर्बी गोलरहित बराबरीमा टुंगेपछि बेनिटेजले एभर्टन सानो क्लब रहेको प्रतिक्रिया दिएका थिए । एभर्टनका समर्थक बेनिटेजको यो भनाइलाई लिएर उनीदेखि अहिलेसम्म पनि आक्रोसित रहेका छन् । एभर्टनका केही समर्थकले बेनिटेजको आगमन हुने निश्चित भएपछि विरोध पनि सुरु गरिसकेका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको