News Desk
लन्डन — असार १८, २०७८। एएफपी
इंग्ल्यान्डले युरो २०२० मा शनिबार युक्रेनको सामना गर्न रोमको यात्रा तय गर्नेछ । तर टिकट भएका इंग्लिस समर्थकलाई पनि त्यहाँ नजान सल्लाह दिइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण लागू भइरहेको नियमका कारण पनि समर्थकले आफूले किनेको टिकट प्रयोग गर्न पाउने छैनन् । वेम्बलीमा भएको खेलमा जर्मनीलाई हराएर इंग्ल्यान्ड क्वाटरफाइनल पुगेको थियो ।
तर कोरोना भाइरस संक्रमणको महामारी बढ्न थालेपछि रोममा कडा नियम लागू गरिएको छ । त्यस नियम अनुसार इटाली पुगेका बेलायती समर्थकले पाँच दिन क्वारेन्टाइन बस्नु पर्नेछ । त्यसैले दुई टिमबीचको खेल प्रत्यक्ष हेर्न पाउने छैनन् । यस्तोमा इंग्ल्यान्डले आफ्ना समर्थकविना रोममा खेल्नु पर्ने स्थिति निश्चित जस्तै देखिएको छ । वेम्बलीमा भने पछिल्लो समय लन्डनको स्थिति केही अनुकुल भएपछि प्रवेश पाउने दर्शक संख्या बढाइएको छ ।
इंग्ल्यान्डको फुटबल संघलाई २ हजार ५ सय ६० टिकट प्रदान गरिएको छ र यो रोमको स्टाडियो ओलम्पको रंगशालामा प्रवेश पाउने १६ हजार दर्शक क्षमताको १६ प्रतिशत हो । इंग्लिस दर्शकले टिकट पाएनन् भने त्यो सर्वसाधारणका विक्रीका लागि खुल्ला गरिनेछ । इंग्ल्यान्डका लागि भने यो प्रतियोगितामा लन्डन बाहिरको एक मात्र खेल रहेको छ ।
इटालीको सरकारका स्वास्थ्य सचिव आन्द्रे कोस्टाले बुधबार इटालीको रेडियोसँगको अन्तर्वार्तामा भनेका छन्, ‘म एउटा तथ्यका के निश्चित छुं झने इंग्ल्यान्डको समर्थक युक्रेनविरुद्धको खेल हेर्न इटाली आउन सक्ने छैनन् । अहिले इटालीमा पाँच दिनको क्वारेन्टाइन नियम चलिरहेको छ र यो नियम सबैलाई लागू हुन्छ । हामी कुनै प्रकारको जोखिम उठाउने पक्षमा छैनौं । इंग्ल्यान्डका समर्थक आएपनि तिनले खेल हेर्न पाउने छैनन् ।’
(कान्तिपुर दैनिक)