स्विट्जरल्यान्डविरुद्ध इतिहास स्पेनको पक्षमा
News Desk
Jul-02 , 2021 तारिख 01:02 बेलुका

सेन्ट पिटर्सबर्ग — असार १८, २०७८। एएफपी

स्विट्जरल्यान्ड ६७ वर्षयता पहिलो पल्ट कुनै ठूलो प्रतियोगिताको नकआउट चरण पुगेको छ र यसका लागि उसले विश्वकप विजेता फ्रान्सलाई पराजित गरेको थियो । युरो २०२० को क्वाटरफाइनलमा स्पेनको सामना गर्दा स्विट्जरल्यान्ड त्यस्तै सफलता दोहराउने प्रयासमा हुनेछ ।

भ्लाडिमिर पेट्कोभिचको टिम फ्रान्सविरुद्ध दुई गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केर टाइब्रेकरमा विजयी रहेको थियो । त्यसमा सन् २०१८ को विश्वकप नायक केलियन एमबापे पेनाल्टीमा चुकेका थिए । अब यस्तै आश्चर्यजनक नतिजा निकाल्न स्विटरल्यान्डले स्पेनमाथि पनि प्रयास गर्नेछ । स्पेनले भने प्रतियोगितामा सुस्त सुरुआत लिएपछि पछिल्ला दुई खेलमा १० गोल गरेको छ ।

स्पेनले क्रोएसियामाथि अतिरिक्त समयमा ५–३ को जित निकालेको थियो र त्यसमा अल्भारो मोरेटा नायक रहे । स्पेनको लक्ष्य चौथो पल्ट युरोपेली उपाधि जित्ने हो भने उसले सबैभन्दा पहिले स्विटरल्यान्डविरुद्ध त्यस्तो कुनै भुल गर्न सक्ने छैन्, जुन उसले क्रोएसियाविरुद्ध गरेको थियो ।

समूह चरणमा शृंखलाबद्ध भुल गरेपछि युभेन्ट्सका फरवार्ड मोरोटा र उनको परिवार समर्थकको आक्रोस तथा दुर्ब्यवहारमा परेका थिए । स्विटरल्यान्डविरुद्ध इतिहास स्पेनको पक्षमा छ । अहिलेसम्म दुई टिमबीचका २२ खेलमा स्पेन एकै पल्ट मात्र पराजित रहेको छ र यो हार दक्षिण अफ्रिकामा भएको विश्वकपमा रहेको थियो । त्यसपछि त स्पेनले २०१० को विश्वकप चुमेको थियो । स्पेनी कप्तान सर्जियो बुस्क्वेट त्यस विश्वकप टिमका त्यस्ता एक मात्र सदस्य हुन्, जसले अहिले पनि खेलिरहेका छन् ।

बुस्क्वेटसँगै २०१२ को युरो विजेता स्पेनी टिमका अर्का एक सदस्य जोर्डी अल्बा अहिलेको टिममा छन् । इटालीलाई ४–० ले हराएर लगातार युरो जितेयता स्पेनले यसै पल्ट मात्र क्रोएसियालाई हराएर पहिलो नकआउट चरणको जित निकालेको थियो । स्पेनी गोलरक्षक उनाइ सिमोन मान्छन्, क्वाटरफाइनल जित आफ्नो टिमको हातमा छ, त्यो विपक्षी टिममा भर पर्दैन् ।

उनी भन्छन्, ‘विपक्षी टिम को हो, त्यसलाई आधार रहेर खेल्ने हुने गर्दैन् । हामी यहाँ प्रत्येक पल्ट बलियो विपक्षी टिम अपेक्षा गरेका आएका छौ र हाम्रो उद्देश्य तिनलाई हराउनु नै हुने गर्छ ।’ एटलेटिको बिलबाओका गोलरक्षक रहेको सिमोनले आफ्नो एकाग्रता गुमाएर क्रोएसियाविरुद्ध आत्मघाती गोलको अवसर दिएका थिए । तर पछि उनले शृंखलाबद्ध बचाउन गरे, विशेषतः अतिरिक्त समयमा ।

गत नोभेम्बरमा स्पनेका लागि डेब्यु गरेका सिमाने थप्छन्, ‘मेरो खेल जीवनमा छ सात पल्ट यस्तो बल नियन्त्रण गर्न नसकेको स्थिति आइसकेको छ । मलाई यस्तो घटना दोहराउन नदिन कडा मिहिनेत गर्नु पर्ने हुन्छ । यसपल्ट घामको समस्या पनि थिएन र बलले अस्वभाविक गति पनि लिएको थिएन् । मैले त्यो बल रोक्नु पर्ने थियो, तर बललाई खेलाउने प्रयास गरें । यो दुर्घटना थियो र यसलाई सच्याउन सकिन्छ ।’

फ्रान्सलाई पन्छाउनु भने स्विस फुटबलका लागि सबैभन्दा खुसीको खेल रहेको छ । फरवार्ड ह्यारिस सेफेरोभिचले यो जितलाई यसरी नै व्याख्या गरेका छन् । १९५४ को विश्वकपमा स्विट्जरल्यान्ड अन्तिम पटक कुनै ठूलो प्रतियोगिताको क्वाटरफाइनल पुगेको थियो र जति बेला उसले अस्ट्रियाको हातबाट ७–५ ले पराजित भएको थियो । अहिलेको स्विस टिमका लागि सेमिफाइनल भने पहुँचमा देखिएको छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको