News Desk
म्युनिक — असार १८, २०७८।
बेल्जियमले शुक्रबार युरो २०२० क्वाटरफाइनलमा इटालीको सामना गर्दैछ र त्यस अगाडि उसको सबैभन्दा ठूलो चिन्ता रहनेछ, केभिन डे ब्रुएना र एडन हेजार्डको चोटमा ।
बेल्जियम इटालीविरुद्धको खेलमा यी दुई खेलाडी उत्रने छन्, अथवा छैनन्, तिनको फिटनेस नतिजाको प्रतीमा हुनेछ । थोरगन हजार्डको गोलले बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा निश्चित गरेको थियो ।
डे ब्रुएनाले पोर्चुगलविरुद्ध दोस्रो हाफको सुरुमै खुट्टाको चोटले मैदान छाडे भने कप्तान हजार्डले खेलको अन्त्यतिर ह्याम्सट्रिङ चोट बोकेको थियो । बुधबार दुवै खेलाडीले अभ्यास गरेनन्, तर बेल्जियमको चिकित्सकीय टोलीले इटालीविरुद्धको खेलका लागि उनीहरूलाई तयार पार्न लगातार प्रयास गरिरहेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले स्विकार गरिसकेका छन्, दुवै खेलाडी खेल अगाडि शतप्रतिशत तयार हुने छैनन् ।
उनी थप्छन्, ‘तर यी दुबै खेलाडीलाई खेलाउने प्रयास भने हाम्रो रहनेछ ।’ बेल्जियमलाई सेमिफाइनल यात्रा तय गर्ने हो भने मिडफिल्डरका डे ब्रुएना मुख्य खेलाडी हुने निश्चित हुनेछ । उनको अनुपस्थितिमा मार्टिनेजलाई अर्को विकल्प खोज्नु पर्ने हुनेछ । यस्तोमा एटलेटिको म्याड्रिडका यानिक कारास्कोले हजार्ड र नेपोलीका फरवार्ड ड्रिज मेर्टेन्सले डे ब्रुएनाको स्थान लिनेछन् ।

बेल्जियमका फ्रान्सेली सहयाक प्रशिक्षक थिएरी हेनरी बिहीबार खेलाडीहरूसँग प्रशिक्षण दौरान ।
मार्टिनेज के पनि मान्छन् भने इटालीले सुरुआती मिनेटदेखि नै आक्रमणको प्रयास गर्नेछ र यो टिमको बनावट आफैमा मजबुत छ । बेल्जियमले यस्तोमा काउन्टर आक्रमण बुन्ने हो भने डे ब्रुएनाको उपस्थिति अनिवार्य जस्तै हुनेछ । चेल्सीका मिडफिल्डर जोरजिन्होले आफ्ना इटालीका साथी खेलाडीलाई चेतावनी पनि दिएका छन्, ‘डे ब्रुएनाले खेलमा धेरै फरक पार्न सक्छन् । हामीले उनलाई रोक्नै पर्छ ।’
जोरजिन्होले गत महिना च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीका यी खेलाडीको सामना गरेका थिए । यसपल्टको प्रतियोगितामा चार जित र तीन खेलमा कुनै गोल नखाएर आफ्नो फिफा वरीयताको नम्बर १ स्थानका इज्जत र प्रतिष्ठा कायम राख्न सफल देखिन्छ । तर उसको यसपल्टको विपक्षी टिम इटाली पनि कम्तीका छैन्, यो टिम पछिल्ला ३१ खेलमा अपराजित छ ।
अन्तिम १६ को खेलमा इटालीले अस्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराएको थियो । इटालीलाई क्वाटरफाइनल पुर्याउन फेडरिको चेल्सी र म्याटिओ पेसिनाले गोल गरेका थिए । बेल्जियमका फरवार्ड थ्रोगन मान्छन्, ‘हामीले सामना गरेका टिममध्ये इटाली निश्चित रूपमा अहिलेसम्कै सबैभन्दा कडा प्रतिद्वन्द्वी रहनेछ । इटालीले लगातार जितिरहेका छ र हाम्रो लागि यो क्रम तोड्न राम्रो अवसर हुनेछ ।’

अभ्यासका क्रममा इटालीका खेलाडी ।
इटालीमा इन्टर मिलानका लागि खेलिरहेको बेल्जियम स्ट्राइकर यसपल्ट तीन गोल गरेका छन् । उनकै प्रदर्शनमा टिकेर इन्टरले ११ वर्षपछि पहिलो पल्ट इटालीको घरेलु लिग जितेको थियो । मिडफिल्डर पेसिना पनि मान्छन्, लुकाकु यस्ता खेलाडी हुन्, जसले तीन डिफेन्डरलाई पन्छाएर बल अगाडि बढाउन सक्छन् । इटालीका लागि भने चिरो इमोबाइलले आफ्ना आलोचकलाई उत्तर दिने क्रममा समूह चरणमा दुई गोल गरेका छन् ।
नत्र उनीमाथि लाजियोका लागि गोल गर्न सक्ने आरोप थियो । उनले स्विटरल्यान्ड र टर्कीविरुद्ध गोल गरेका थिए । लाजियोका लागि पछिल्ला दुई सिजन उनले ४१ खेलमा २५ गोल गरेका छन् । इटालीका लागि सन् २०१८ को विश्वकपमा छनोट हुन नसक्नु सबैभन्दा ठूलो शिक्षा रहेका छ र इमोबाइल मान्छन्, यसै असफलताबाट प्राप्त शिक्षा अहिले टिमका लागि बहुमूल्य सावित भएको छ ।
(कान्तिपुर दैनिक)