News Desk
म्युनिक — असार २०, २०७८। द गार्डियन
युरो २०२० मा इटाली जत्तिको राम्रो अर्को टिम देखिएको छैन । बेल्जियमलाई हराएपछि इटाली उपाधिबाट दुई जितमात्र टाढा छ । प्रश्न हो, इटाली कहाँसम्म पुग्ने छ त ? निकोलो बरेल्ला र लोरेन्जो इन्सिग्नेको एक–एक उत्कृष्ट गोलमा इटालीले अन्तिम आठमा बेल्जियमलाई २–१ ले हराएको हो ।
इटालीले वेम्बलीमा हुने सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । जर्मनीका योर्गन क्लिन्सम्यान मान्छन्, प्रतियोगिताको पहिलो दिनदेखि इटालीले देखाएको छ कि टिम उपाधि जित्न सक्षम छ । अबको यात्रामा टिममा त्यस्ता एक खेलाडी हुने छैनन्, जसले अहिलेसम्म सबैभन्दा राम्रो खेलेको छ ।
उनी हुन्, लियोनार्दो स्पिनजोला । चोटका कारण उनी मैदान छाड्न बाध्य रहे । यसक्रममा उनका आँखामा प्रतियोगिता गुमाउनुको पीडा स्पष्ट देखिएको थियो । सन् १९६८ यता इटालीले अहिलेसम्म युरो जितेको छैन । तर यही टिमले पछिल्ला तीन वर्षयता कुनै खेल पनि गुमाएको छैन । अहिले यो टिम गज्जबसँग लगातार ३२ खेलमा अपराजित छ ।
त्यसमध्ये १३ खेल लगातार जितेको छ । यो जितमा दुई अवसरमा मात्र विपक्षी टिमलाई गोल अवसर दिइएको छ । यसमा समस्या एउटै के थियो भने यी सफलता कुनै ठूला टिमविरुद्ध भने थिएन । क्रिस कर्टन भन्छन्, ‘अरू धेरैले जसरी मैले पनि प्रतियोगिताअघि इटालीलाई धेरै महत्त्व दिएको थिइनँ, किनभने उसको सफलता साना प्रतिद्वन्द्वीविरुद्ध नै थियो । तर अब इटालीसामु खाली ठूला टिममात्र हुनेछ । हेरौं, टोलीको यात्रा कहाँसम्म पुग्नेछ ।’
बेल्जियमलाई हराएर इटालीले आफूमाथि लागेको आरोपको एउटा उत्तर भने दिएको मान्नुपर्छ । इटालीबारे क्लिन्सम्यान भन्छन्, ‘इटालीको आक्रमण अहिले निकै तिखारिएको छ । इटाली एकपछि अर्को पास निकाल्न र यसक्रममा बलमाथि पर्याप्त नियन्त्रण राख्न सक्षम छ ।’ बेल्जियमलाई हराएपछि इटालीको फुटबल टिमले अहिले गरिरहेको अद्वितीय यात्राका खास साक्षी प्रशिक्षक रोबर्टो मान्चिनी पनि मान्छन्, पछिल्लो जितका लागि आफ्नो टिम पूर्णतः हकदार छ ।
उनले भनेका छन्, ‘खेलको अन्तिम १० मिनेट बेल्जियमले हामीलाई दबाबमा राखेको पक्कै हो । यसको कारण छ, हाम्रा खेलाडी थाकेका थिए । हाम्रो दाबी के छ भने यसअगाडि नै हामीले थप केही गोल गरिसकेको हुनुपर्थ्यो । हामीले तय गर्नुपर्ने यात्रा अझै लामो छ । हाम्रो अगाडि दुई निकै महत्त्वपूर्ण खेल हुनसक्छ । अहिले तत्काल हामी बेल्जियममाथि प्राप्त जितमा खुसी हुन चाहन्छौं, त्यसपछि के गर्ने हो, त्यसबारे सोच्छौं । अहिले तत्काल म आफ्नो टिमलाई बधाई दिन चाहन्छु ।’
इटालीका लागि बेल्जियमविरुद्धको खेलको एकमात्र सबैभन्दा खराब पक्ष भनेको स्पिनजोलालाई गुमाउनु नै रह्यो । एएस रोमाका २८ वर्षीय डिफेन्डर यसपल्टको युरोको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी छन् । तर अहिले चोट बोकेपछि उनी कम्तीमा एक महिना मैदानबाहिर रहनेछन् । मान्चिनी पनि उनीप्रति सहानुभूति राख्छन् । उनी मान्छन्, स्पिनजोला युरो २०२० मा असाधारण खेल खेल्ने खेलाडीमा पर्छन् ।
(कान्तिपुर दैनिक)