मध्यएसियाली भलिबल संघको कोषाध्यक्षमा चन्द
News Desk
Jul-05 , 2021 तारिख 11:28 बिहान

काठमाडौँ — असार २१, २०७८। 

नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द मध्यएसियाली भलिबल संघको कोषाध्यक्षमा नियुक्त भएका छन् । नेपालबाट एसियाली क्षेत्रीय भलिबल संघका नियुक्ति पाउने उनी पहिलो पदाधिकारी हुन् । 

मध्यएसियाका १४ देशसम्मिलित भलिबल संघलाई एसियाली भलिबल महासंघ (एभीसी) ले सन् २०१५ मा मान्यता दिएको हो । अहिलेसम्म संघको कार्यकारीका रूपमा अध्यक्ष र महासचिवमात्र रहने व्यवस्था भए पनि यसपालिदेखि कोषाध्यक्ष पद सिर्जना गरी चन्दलाई शनिबार नियुक्ति दिइएको हो । संघका अध्यक्ष माल्दिभ्सका मोहम्मद लतिफ छन् भने महासचिव क्लिच किर्गिस्तानका हुन् । संघको केन्द्रीय कार्यालय पनि किर्गिस्तानमै छ ।

पूर्वराष्ट्रिय भलिबल खेलाडीसमेत रहेका चन्दले नेपाल भलिबलको सक्रियता र अधिक अन्तर्राष्ट्रिय सहभागिताका कारण सेन्ट्रल जोनले अवसर दिएको प्रतिक्रिया दिए । नेपालले सन् २०१९ को अगस्टमा सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो भने त्यही समयमा सेन्ट्रल जोनको साधारणसभासमेत भएको थियो । ‘हामीले सेन्ट्रल जोनको अवधारणामा रहेर धेरै गतिविधि, प्रतियोगिता र सफलता पनि हासिल गर्‍यौं । त्यसका लागि अन्तर्राष्ट्रिय समन्वय गरेका कारण मलाई विश्वास गरिएको हुनुपर्छ,’ कान्तिपुरसँग चन्दले भने ।

उनको कार्यकाल चार वर्ष रहनेछ । आफ्नो कार्यकालमा नेपालसहित सेन्ट्रल जोनमा आबद्ध १४ देशमा भलिबल गतिविधि विकासका लागि योजनावद्ध रूपमा काम गर्ने उनले बताएका छन् । ‘नेपालमा भलिबल विकासका लागि प्राथमिकतामा पार्ने प्रयास हुनेछ तर त्यसका लागि संघको सक्रियता नै मुख्य हुन्छ । मैले सबै देशलाई समान व्यवहार गर्नुपर्छ,’ चन्दले थपे, ‘नेपाल भलिबल संघले दुई वर्षदेखि दक्षिण एसियाली भलिबल संघ गठनको प्रयास गरेको छ । त्यसमा मेरो विशेष प्रयास रहनेछ ।’

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले एभीसीमार्फत वार्षिक ३० हजार डलर बजेट सेन्ट्रल जोनलाई उपलब्ध गराउँदै आएको छ ।

(कान्तिपुर दैनिक)
 

धेरै पढिएको