News Desk
लन्डन — असार २१, २०७८। एपी
इंग्ल्यान्ड सेमिफाइनल पुगेको छ, युरो २०२० को । टिमको यहाँसम्मको यात्राका धेरै फरक पक्ष छन् । त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण छ, टिमले तेर्साएको बलियो रक्षापंक्ति । त्यसैले त इंग्ल्यान्डले प्रतियोगितामा कुनै गोल खाएको छैन । टिमले विपक्षी टिमविरःद्ध गरेको गोलभन्दा यो तथ्य पनि कम्तीको महत्त्व छैन, अझभन्दा बढी छ । यहाँ मीठो तथ्य के छ भने यिनै रक्षापंक्तिका खेलाडीले इंग्ल्यान्डको गोलमा पनि उत्तिकै भूमिका खेलिरहेका छन् ।
साँच्चै पाँच खेल, पाँच ‘क्लिनसिट’ । अर्थात इंग्ल्यान्डले पछिल्ला पाँच खेलमा कुनै गोल खाएको छैन । युरो २०२० मा इंग्ल्यान्डको रक्षापंक्ति निकै बलियो देखिएको छ । यो नै प्रशिक्षक गारेथ साउथगेटको विजयी सूत्र रहेको छ अनि यसमै टिकेर इंग्ल्यान्ड सेमिफाइनल पुगेको छ ।
एक वर्षअगाडि मात्र निर्धारित समयमै प्रतियोगिता भएको भए, इंग्ल्यान्डको रक्षापंक्ति फरक हुने थियो । अहिले जस्तो हुने थिएन । यो समयको खेल पनि हो ।
इंग्ल्यान्डका अहिलेका चार डिफेन्डर हुन्– जोन स्टोन्स, लुक श, केयल वाल्कर र ह्यारी मगायर । युत्रेनमाथि प्राप्त गरेको ठोस ४–० को जितमा पर्दा पछाडिका नायक त यिनै हुन् । अब बुधबार इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ । युरो २०२० मा इंग्ल्यान्डका लागि सबै पाँच खेल खेल्ने एकै मात्र डिफेन्डर हुन् स्टोन्स । यी सेन्टर ब्याकले कोरोना भाइरसको संक्रमण फैलिनुअगाडि इंग्लिस टिममा आफ्नो स्थान गुमाइसकेका थिए ।
तर, उनले म्यानचेस्टर सिटीको उपाधि यात्रामा भने उल्लेखनीय भूमिका खेले । सन् २०१९ मै शले पनि इंग्लिस टिममा स्थान पाउन छाडिसकेका थिए, त्यसैले यसपल्टको युरोका लागि भनेर उनी मार्चमै मात्र टिममा फर्केका थिए । चोटबाट संघर्ष गर्दै उनले म्यानचेस्टर युनाइटेडका लागि प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतिस्पर्धात्मक राइट ब्याकको भूमिकाका लागि सन् २०१९ को आधा भागमा वाल्करलाई बेवास्ता नै गरिएको थियो ।
त्यसो त सन् २०१८ को विश्वकप सेमिफाइनल यात्रासम्म मगायरको स्थान निश्चितजस्तै थियो, तर २०२० को अगस्टदेखि उनको सम्भावना कमजोर हुन थालेको थियो । ग्रिसमा बिदा मनाउनेक्रममा उनी दुर्घटना जस्तै जुन विवादास्पद घटनाबाट गुज्रिए, उनलाई टिममै राख्न छाडिएको थियो । तर यी म्यानेस्टर युनाइटेड कप्तानलाई दोस्रो मौका दिइयो । ग्रिसमा साँच्चै के भएको थियो, त्यसबारे मगायरले जे भने, त्यसमा प्रशिक्षक साउथगेटले विश्वास गरे ।
यस्तोमा २०२० को अक्टोबर आइपुग्दा उनी टिममा फेरि छानिन थाले । साउथगेटलाई उनीमाथि कति धेरै विश्वास थियो भने चोटबाट गुज्रिइरहेको भए पनि युरो २०२० को टिमका लागि उनलाई छनोट गरियो । सायद चोटकै कारण उनले प्रतियोगिताका सुरुआती दुई खेल खेल्न पाएनन् । त्यसपछि भने उनले लगातार तीन खेल खेले, स्टोन्स र वाल्करसँगै । यसमै टिकेर इंग्ल्यान्डले जर्मनीमाथि प्रख्यात २–० को जित निकालेको थियो ।

उनले स्टोन्ससँग साझेदारीमा लिग चरणको अन्तिम खेलमा चेक गणतन्त्रमाथि १–० को जित रच्न मदत गरेका थिए । अहिले युक्रेनमाथि त इंग्ल्यान्डले रचेको जितमा धेरै विशेषता छ । त्यसमा सायद सबैभन्दा राम्रो शब्द हो, एकपक्षीय । रोममा शनिबारको खेलमा त मगायरले गोल गरे, त्यो पनि शको पासमा । मगायर भन्छन्, ‘हामीले आक्रमण बुन्दा पनि हामीबीच उस्तै साझेदारी हुनुपर्छ भनेका थियौं, शले मीठो पास मिलाइदिए ।’
म्यानचेस्टर युनाइटेडमा ओले गनर सोल्सायर आएयता शको खेलजीवन उकालो लागेको छ । अहिले त्यसको प्रस्ट प्रभाव देखिन थालेको छ इंग्लिस टिममा । तर उनका आलोचक उत्तिकै छन् । विशेषतः म्यानचेस्टर युनाइटेडकै पूर्वव्यवस्थापक जोसे मोउरिन्हो । २०१८ मा यी पोर्चुगाली प्रशिक्षक आफै क्लबको बर्खास्तगीमा परेका थिए, तर अहिले कमेन्टेटरको भूमिकामा रहेका मोउरिन्होले शको खेललाई लिएर भनेका छन्, ‘यो त साह्रै खराब पो छ ।’
यसको अर्थ शलाई अझै पनि मोउरिन्हो जस्ता आलोचकको मुख बन्द गर्नु छ । जर्मनीविरुद्ध रहिम स्टर्लिङले गरेको गोलमा पास मिलाउने खेलाडी श नै थिए । अझ ह्यारी केनले युक्रेनविरुद्ध गरेको दोस्रो गोलमा पनि उनकै भूमिका थियो । यस्तोमा खाली रक्षापंक्तिको भूमिकामा मात्र सीमित रहेका छैनन्, उनको योगदान योभन्दा अझ बढी छ । त्यसैले सायद मोउरिन्होले उनको खेललाई लिएर अलि बढी नै आलोचना गरे कि ?
भन्छन्, ‘धेरैले म टिममा पर्छु भनेर शंका गरेका थिए । तर म यसको जवाफ दिने पक्षमा छैन । मेरो शिर सधैं निहुरिएको हुनेछ । मेरो काम भनेको अझ कडा मिहिनेत गर्ने नै हो । मलाई विश्वास छ, प्रशिक्षकले दिएको जिम्मेवारीमा म ठीकसँग निर्वाह गर्न सकुँ ।’ साउथगेट आफैं पनि इतिहासमा फर्केर कोही कसैको आलोचना गर्न चाहँदैनन् । इंग्ल्यान्डले पछिल्लो विश्वकपको अन्तिम चारमा प्रवेश गर्दा शले जस्तो प्रदर्शन गरेका थिए, त्यसै प्रदर्शन अहिले चाहन्छन् ।
उनी सन् २०१९ को नेसन्स कप सेमिफाइनलमा शको भूल सम्झन चाहँदैनन् । यता स्टोन्स भने आफ्नी प्रेमिकासँगको बिग्रेको सम्बन्धलाई लिएर बढी नै चर्चामा छन् । आखिरमा सानै उमेरदेखि नै उनकी प्रेमिका थिइन्, अझ उनका बच्चाका आमा पनि । सिटीभित्रै उनी आफ्नो स्थान निश्चित गर्न लामै संघर्ष गर्न बाध्य रहे । जतिबेला उनको स्थान पक्कापक्की जस्तै भयो, पेप ग्वार्डिओलाको टिमले प्रिमियर लिग पनि जित्यो ।
स्टोन्स भन्छन्, ‘म अहिले निकै अनुभवी भएको छु, सायद केही बुद्धिमान र उत्तिकै केही राम्रा खेलाडी पनि ।’ इंग्ल्यान्डको डिफेन्सका अर्का एक खेलाडी हुन्, किरोइन ट्रिपियर । सन् २०१९ मा एट्लेटिको म्याड्रिड गएयता उनको खेलजीवनले पनि पुर्नजीवन पाएको छ । उनको टिमले स्पेनी ला लिगा जितेको छ । सन् २०२१ को सुरुमा उनलाई १० साताको प्रतिबन्ध सुनाइएको थियो, इंग्ल्यान्डको बाजीसम्बन्धी कानुन ताडेको आरोपमा ।
यहाँनिर यी सबै खेलाडीको चर्चा गर्दा गोलरक्षक जोर्डन पिकफोर्डलाई मात्र कहाँ छुटाउन पाइन्छ र ? पाँच खेल, पाँच ‘क्लिनसिट’ मा उनको पनि उत्तिकै भूमिका छ । साउथगेटले पनि उनीमाथि अगाढ विश्वास गरेकै हो, नत्र यी गोलरक्षक पनि उत्तिकै आलोचनाको केन्द्रमा रहने गरेका थिए । एभरटनमै उनको स्थान तलमाथि भएको थियो । तर अहिले उनी फेरिएका छन् । फेरिएको छ इंग्ल्यान्ड टिम । यो कथा हो, इंग्ल्यान्डले अहिलेसम्म ५ खेलमा कुनै गोल नखाएको उपलब्धिबारे ।
(कान्तिपुर दैनिक)