News Desk
रोम — असार २१, २०७८। एपी
दस वर्षपछि । ६० भन्दा बढी खेलपछि । आखिरमा जोर्डन हेन्डरसनले इंग्ल्यान्डका लागि गोल गरेको सुखभोग । उनले अनुभव गरे, देशका लागि गोल गर्दाको क्षण कस्तो हुँदो हो त ? इंग्ल्यान्डले युरो २०२० मा युक्रेनमाथि प्राप्त ४–० जितमा यी मिडफिल्डरले टिमको अन्तिम गोल गरे ।
युक्रेनविरुद्ध इंग्ल्यान्डका जोर्डन हेन्डरसनले गोल गर्दाको क्षण जुन इंग्ल्यान्डको चौथो गोल थियो । तस्बिर : रोयटर्स
मेसन माउन्टको कर्नरमा, दोस्रो हाफमा, स्टाडियो ओलम्पिकोमा हेन्डरसनले हेडबाट गोल गरे । क्रस आफूतिर आउँदा उनको नजर चनाखो थियो, त्यसैले उनले बल त्यसरी हेड गरे कि त्यसको गन्तव्य पोस्टबाहेक अन्यत्र हुन सक्दैनथ्यो । इंग्लिस प्रिमियर लिगमा लिभरपुलका लागि खेल्ने हेन्डरसनले पछि भने, ‘यो वास्तवमै निकै विशेष क्षण रह्यो ।’
उनले थपे, ‘त्यसमाथि इंग्ल्यान्ड युरोको सेमिफाइनल पुगेको छ, यो कम्ती खुसीको उपलब्धि होइन ।’ हेन्डरसनले सन् २०१० को नोभेम्बर १७ मा इंग्ल्यान्डका लागि डेब्यु गरे, तर त्यसपछिका ६० खेलमा कुनै गोल गर्न सकेनन् । डेक्लन राइसको स्थानमा युक्रेनविरुद्ध ५७ औं मिनेटमा मैदान प्रवेश गर्दा यो उनको इंग्ल्यान्डका लागि ६२ औं खेल थियो । मैदानमा छिरेको ६ मिनेटपछि उनले माउन्टको कर्नरमा गोल गरे । खेल पुग्यो ४–० को स्थितिमा । गोलपछि उनले आफूलाई रोक्न सकेनन् । कर्नरमा रहेको झण्डातिर गए अनि साथीसँग मिलेर जोडदार ढंगले खुसीयाली मनाए । त्यही खेलमा दुई गोल गरेका ह्यारी केन पनि हेन्डरसनका लागि खुसी रहे ।
उनले भने, ‘म जोर्डनका लागि निकै खुसी छु । मलाई थाहा छ, उनी यही गोलका लागि संघर्षरत थिए, कसो कसो गोल निस्किरहेको थिएन । अहिले गोल भएको छ, यो जत्तिको खुसी तत्काल अर्को हुन सक्दैन ।’ इंग्लिस टिमका कप्तान केन पनि हेन्डरसनलाई महान नेता मान्छन् अनि अरू खेलाडीलाई पछ्याउन योग्य व्यक्तित्व ठान्छन् ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कको सामना गर्नेछ । खेल फेरि लन्डनको वेम्बलीमै हुनेछ । त्यसलाई लिएर उनले उत्तिकै सटिक प्रतिक्रिया दिएका छन् । हेन्डरसन भन्छन्, ‘हामीले वेम्बलीमा खेल्दा घरमा खेलेको फाइदा केही हदसम्म लिन सक्छौं, तर धेरै होइन । अहिले हाम्रो ध्यान खेलमै केन्द्रित हुनुपर्छ । हामी भुइँमै छौं, माथि उडेका छैनौं । यस्तो गर्नुहुन्न पनि ।’
(कान्तिपुर दैनिक)