५५ वर्षपछि जुरेको फाइनल
News Desk
Jul-09 , 2021 तारिख 11:56 बिहान

लन्डन — असार २५, २०७८। द गार्डियन

उत्तिकै लामो र झन् बढी पीडादायी प्रतीक्षामा अन्ततः पूर्णविराम लागेको छ । इंग्ल्यान्डले ५५ वर्षअगाडि आफ्नै भूमिमा विश्वकप जितेको थियो । यो नै इंग्ल्यान्डले हात पारेको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो विश्व फुटबलमा ।

त्यसयता धेरै प्रशिक्षक आए र गए । धेरै खेलाडीलाई अवसर दिइयो अनि बाहिरको बाटो देखाइयो । केही खेल जिते । केही खेलमा पराजित रहे । तर, फेरि एकपल्ट फाइनल खेल्ने सपना भर्खर मात्र पूरा भयो ।

प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा इंग्ल्यान्ड युरो २०२० को फाइनल पुगेको छ । सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जित्दा पूरा इंग्ल्यान्डमा खुसीयाली छाएको थियो, जताततै इंग्ल्यान्डको झण्डा फहराएको देखियो । भर्खर भर्खर टेलिभिजन आएको थियो, त्यो पनि ब्ल्याक एन्ड ह्वाइट । धेरैभन्दा धेरै यसमै प्रत्यक्ष प्रशारित फुटबल हेरेर मख्ख रहे । के त्यतिबेला कसैले सोचेका थिए होलान्, इंग्ल्यान्डले दोस्रो फाइनल खेल्न यति धेरै समय लगाउने छ भनेर ?

यसको उत्तर पक्कै थिएन । यसबीच इंग्लिस फुटबल र यसको समर्थकले लगातार मुटु छियाछिया हुने हार बेहोर्नुपरेको थियो । केही हार त बिर्सन नसकिने गरेर गहिरो पीडाको खेल रह्यो । त्यो विश्वकप सफलतापछि इंग्ल्यान्ड टिम फिफा र यूईएफएका प्रतियोगिताहरूमा १४ पल्ट नकआउट चरण पुग्न सफल रह्यो । यो २८ प्रतियोगिताको तथ्यांक हो । त्यसैले सफलता प्रतिशत ५० प्रतिशतमात्र रह्यो । सन् १९६६ को विश्वकप फाइनलमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई हराएको थियो ।

यसपल्ट नकआउट चरणमा त्यही जर्मनीलाई हराइसकेको छ, तर जर्मनीका यिनै प्रतियोगिताहरूमा प्रदर्शन भने उच्च छ । जर्मनी २० पल्ट नकआउट चरण पुगेको छ । यो सफलताको प्रतिशत ७१ प्रतिशतभन्दा बढी हुन्छ । केही हारका खास–खास विशेषता रहे । जस्तो, सन् १९७० मा गर्ड मुलरको भली, सन् १९८६ मा डिएगो म्याराडोनानको ‘ह्यान्ड अफ गड’, सन् २००४ मा वायन रोनीले चोट बोक्नु अनि सन् २००६ मा उनले नै रातो कार्ड खानु । सन् २०१० मा फ्रान्क लाम्पार्डको प्रहारलाई गोलको मान्यता नदिनु ।

सन् १९६६ पछि इंग्ल्यान्ड ३ सय २ अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल खेलेको छ, फिफा र यूईएफका आधिकारिक खेलसमेत जोडेर । यो २७ हजार ५ सय ७० मिनेटको खेल हो । यसमा अतिरिक्त समय जोडिएको छ, इन्ज्युरी समय भने राखिएको छैन । यसबीच इंग्ल्यान्ड १ सय ८० खेलमा विजयी रह्यो । जहाँ ६ सय ४ गोल गरेको थियो । यसबीच टोलीले १ सय ९६ गोल पनि खायो ।

यी सबै खेलमा इंग्ल्यान्डको सबैभन्दा बढी दोहोरिएको प्रतिद्वन्द्वी पोल्यान्ड रहेको छ । इंग्ल्यान्डका खास दुई विपक्षी टिम छन्, जर्मनी र पोर्चुगल । यिनै दुई टिमले इंग्ल्यान्डलाई बढीभन्दा बढी चोट दिएको छ । गोरान एरिक्सन इंग्ल्यान्डका सबैभन्दा सफल प्रशिक्षक दरिएका छन् ।

उनको नेतृत्वमा इंग्ल्यान्डले सन् २००२ देखि २००६ बीच तीन क्वाटरफाइनल खेलेको थियो । फाबियो कापेलोको नेतृत्वमा पनि इंग्ल्यान्डले सन् २०१० को विश्वकपमा राम्रै प्रदर्शन गरेको थियो । तर अन्तिम १६ मा जर्मनीसँग पराजित रह्यो ।

अहिलेका प्रशिक्षक साउथगेटको प्रदर्शन पनि उच्च रहेको छ । उनको नेतृत्वमा इंग्ल्यान्डले तीन सेमिफाइनल खेलिसकेको छ । ती हुन्, विश्वकप, नेसन्स लिग र जारी युरो । उनको नाममा रहेको एक प्रकारको सबैभन्दा ठूलो उपलब्धि हो जर्मनीलाई नकआउट चरणमा पराजित गर्नु । अब प्रश्न हो, के यिनै साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले युरो जित्न सक्नेछ ? त्यो पनि ५५ वर्षपछि ।

(कान्तिपुर दैनिक) 

धेरै पढिएको