प्याब्सकद्वारा आयोजित प्रतियोगितात्मक उद्घोषण तालिम सम्पन्न
News Desk
Aug-24 तारिख 12:51 बेलुका

 काठमाडौ- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितात्मक उद्घोषण तालिम सम्पन्न भएको छ। चाबहिल चुच्चेपाटी स्थित स्मार्ट पार्टी प्यालेसमा स्वास्थ्य मापदण्ड पालनागरी आयोजना गरिएको उक्त कार्यक्रममा उद्घोषण तालिमबाट छानिएका टप टेन मध्येबाट विजेता छनोट गरिएको थियो। योहो टेलिभिजनका समाचार प्रमुख तथा प्रसिद्द पत्रकार जीवराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा निर्णायकको रूपमा संचारकर्मीहरु अच्युत घिमिरे एबं प्रशन्न ढुंगाना रहेका थिए। निजी विद्यालय संचालक,प्रिन्सिपल, शिक्षक एबं प्रतियोगी विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा प्रतियोगी विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालन गर्न लगाएर विभिन्न विधा मार्फत परीक्षण गरी विजेता घोषित गरिएको थियो।

प्याब्सकका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव राजन श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष समीर बास्तोलाले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि भण्डारीले मन्तव्य राख्दै प्याब्सकको यस्तो कार्यक्रमबाट आफू प्रभावित भएको र भविष्यमा सहकार्यको लागि तयार रहेको बताए। त्यसैगरी कार्यक्रममा विष्णु पराजुली, नारायण तिम्सिना, अच्युत घिमिरे, प्रशन्न ढुंगानाले समेत आफ्नो विचार राखेका थिए। यसअघि निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले उद्घोषण तालिम संचालन गरेको थियो। पाँच दिनसम्म विहान ९ बजे देखि ११ बजे सम्म अनलाइन मार्फत संचालन गरिएको उक्त कार्यक्रममा संचारकर्मी प्रशन्न ढुंगाना प्रमुख प्रशिक्षकको रुपमा रहेका थिए।

प्याब्सक अन्तर्गतका करिव ५० विद्यालयका विद्यार्थीहरुले भाग लिएको उक्त तालिम कार्यक्रममा १ सय भन्दा धेरै प्रशिक्षार्थी विद्यार्थीहरु लाभान्वित भएको उक्त कार्यक्रमका संयोजक राजु पुडासैनीले जानकारी दिएका छन् ।

पाँच दिनको तालिम पश्चात उक्त उद्घोषण प्रतियोगिता संचालन गरिएको हो। उक्त प्रतियोगितामा पायोनियार पब्लिक स्कूलकी दीपिका ढुंगाना प्रथम, पुष्पलाल मेमोरियल स्कूलकी आरजु अर्याल द्वितीय, पुष्पलाल मेमोरियल स्कूलकी संगम कार्की तृतीय तथा सगरमाथा एजुकेशनल एकेडेमीकी दीपशिखा मगर चौथो भईन् । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले विद्यार्थीहरुमा अन्तर्निहित ज्ञान र कला तथा क्षमताहरु प्रस्फुटन गराउन निरन्तर विविध सिर्जनात्मक गतिविधी सञ्चालन गरिरहेको र भविष्यमा अन्य कार्यक्रमका साथ आउने संस्थाका अध्यक्ष एबं मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बताए ।

उक्त प्रतियोगिताबाट विजयी हुन सफल विद्यार्थीलाई निकट भविष्यमा संचालन हुने प्याब्सक बालकुमार स्मृति गायन प्रतियोगिताको औपचारिक कार्यक्रम संचालन गर्ने अवसर दिलाईने महासचिव राजन श्रेष्ठले बताएका छन्।