त्रिभुवन विश्वविद्यालयमा खेलकुदका प्रयुक्त भाषा बारे प्राज्ञीक समिक्षा
News Desk
Sep-21 तारिख 07:48 बेलुका

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको पहलमा प्राज्ञ तथा खेलकर्मीहरुको उपस्थीती माझ खेलकुद क्षेत्रका प्रयुक्त भाषा बारे बृहत् समिक्षा गरिएको छ । नेपाली साहित्य बाङमयकोषमा खेल सम्बद्व बिषयको विकास एवम प्रबर्धनमा टेवा पुर्याउने हेतुले आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व त्रि. वि. विद्यार्थी कल्याण तथा खेलकुद निर्देशक एवम् सह प्राध्यापक पशुपति अधिकारीले गरेका थिए।

समिक्षागत छलफलमा प्रा.डा.हुम बहादुर बरुवाल,प्राध्यापक गङ्गा बहादुर मगर,उप प्राध्यापक डा.राजेन्द्र खनाल ,उप प्रशासक सरस्वती गुरुङ ,लेखक डिएन घिसिङ ,खेलकर्मीद्वय अमीर घर्ती क्षेत्री र सन्देश कुमार रेग्मी लगाएतको सहभागीता रहेको थियो । सो अवसरमा अधिकांश सहभागी प्राज्ञले समाज विकासको मेरुदण्ड शिक्षाको पद्धति भएकाले गुणस्तरीय खेल शिक्षा प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै सैद्धान्तिक र प्राविधिक खेल बिषयमा गहन अनुसन्धान हुनुपर्ने तर्क पेश गरेका थिए ।

छलफलका क्रममा खेलकुदमा प्रयुक्त भाषा बारे नेपाल प्रज्ञा प्रतिष्ठान बृहत शब्दकोशमा समेट्ने शब्द र अर्थमा समेत छलफल भएको खेलकर्मी एवम् लेखक डिएन घिसिङले बताए। खेलकुदमा प्रयुक्त प्राविधिक शब्दको अर्थ गहन अनुसन्धानात्मक अध्ययन गरि गरिनुपर्ने धारणा प्राडा.हुम बहादुर बरुवालले राखे।

खेलकुदमा शैक्षिक सन्दर्भ र व्यवहारिक अभ्याससँगै जोड्न सके दक्ष नागरिक उत्पादन हुने प्राडा.बरुवालले बताए। उक्त अवसरमा सह प्रा.पशुपति अधिकारीले नेपाली खेलकुदमा प्रयोग हुने भाषा र अर्थ समेतको ब्याकरण पुस्तक तयार गर्न सके खेल शिक्षाको स्तर उन्नति हुने धारणा राखेका थिए।