महेन्द्र राजमार्ग विस्तार : धुलो र खाल्डाखुल्डीले स्थानीयलाई सास्ती
News Desk
Nov-23 , 2021 तारिख 10:42 बिहान

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको मुख्य बजार धुलो र खाल्डाखुल्डीका कारण हिँड्नै नसकिने भएको छ । सडक आसपासका स्थानीय बासिन्दा र व्यवसायी धुलो र खाल्डाखुल्डीका कारण हैरान भएका छन् । ‘धुलोले सडक दिउँसै देखिन्न भने किनारका घरमा समेत बस्नै नसक्ने भएको छ ,’ लोकाहाका लिला काफले भन्छन्, ‘राजमार्गमा निस्कनै सकिन्न । घरको झ्याल ढोका खोल्नै हुन्न धुलोले सासै फेर्न नसकिने भयो ।’ राजमार्ग फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीले चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम गर्दा धुलो उडाउन नपाउने ठेक्का सम्झौतामै उल्लेख भए पनि सडकमा पानी नहालेका कारण यस्तो बिजोग भएको हो ।

देशकै लाइफलाइन मानिने महेन्द्र राजमार्गको यो दुर्दशा भएको ३ वर्ष भइसके पनि सरोकारवालाको ध्यान नगएको कावासोती नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आनन्द गुरुङ बताउँछन् । ‘सडक किनारका पसलमा धुलोका कारण ग्राहक जानै सक्दैनन्,’ उनी भन्छन्, ‘सडकमा धुलो मार्न पानी हाल्ने काम समेत नगरेका कारण आसपासका घरमा बस्नै नसकिने भएको छ । धुलोले सडक नदेखिएर दुर्घटनाको जोखिम बढ्दो छ ।’ महेन्द्र राजमार्गको गैंडाकोट दाउन्ने खण्डको ५९ किलोमिटर सडक पार गर्न ४ घण्टाभन्दा बढी समय लाग्छ । यो खण्डमा दैनिक ६ वटा दुर्घटना सडकको खाल्डाखुल्डीका कारण हुने गरेको ट्राफिक प्रहरीको भर्ना छ । १४ किलोमिटर खण्डको दाउन्नेमा हरेक २४ घण्टामा ४ वटा दुर्घटना हुने गरेको छ ।

‘पानी छरेर धुलो नियन्त्रण गर्न सकिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा भन्छन्, ‘पानी छम्कन पटक–पटक भन्ने गरे पनि ठेकेदारले अटेरी गरेको छ । वातावरण अति प्रदूषित भएको छ ।’ धुलोरहित बनाउन दर्जनौँ पटक पत्राचार गरे पनि ठेकेदारले नटेरेको थापाको भनाइ छ । सडक आयोजनाका प्रमुख इन्जिनियर रमेश दृष्टि भने सम्पर्कमा आउन चाहेनन् । बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटर सडक फराकिलो पार्न १७ अर्बमा ठेक्का लिएको चिनियाँ कम्पनीको काम हाल सम्म ९ प्रतिशत मात्र पूरा भएको छ ।     

( कान्तिपुर दैनिक )