लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडरमा राजेश हमाल
News Desk
Nov-12 , 2024 तारिख 12:32 बेलुका

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ।

नक्सालमा सोमवार पत्रकार सम्मेलन गर्दै लुम्बिनीले नेपालको कला क्षेत्रमा लामो योगदान गरेका राजेश हमाललाई पहिलो संस्करणका लागि ब्राण्ड एम्बासडर घोषणा गरेको हो। 

कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र अभिनेता राजेश हमालले सहकार्यका लागि सम्झौता गरे। 

लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र कन्स‍लट्यान्ट प्रशिक्षकमा शक्ति गौचन छन। यी दुवै लुम्बिनी प्रदेशका स्थानीय हुन।

सो अवसरमा अभिनेता हमालले लुम्बिनी लायन्ससँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै एनपिएल दिगो रूपमा अगाडि बढ्ने आशा व्यक्त गरे। 

उनले लुम्बिनीसँग ब्राण्ड एम्बासडर हुनु टोलीसँग भावनात्मक सम्बन्ध गाँसिनु रहेको बताए। आफूले क्रिकेट कल्चर बोकेको कलेजमा शिक्षा लिएको स्मरण गर्दै नेपालले अन्तरराष्ट्रिय स्तरमा सफलता प्राप्त गरेपछि आफूमा पनि क्रिकेटप्रति रुची बढेको अभिनेता हमालले बताए। 

लुम्बिनी लायन्सका मार्की रोहितले आफ्नो टोलीमा फिल्म क्षेत्रका महानायक जोडिँदा उत्साहित भएको बताउँदै लुम्बिनीको व्यवस्थापन टोलीले आफूहरूले माग गरेअनुरूप दिएकाले अब खेलाडीले पनि सोहीअनुरूप मेहनत गर्नुपर्ने बताए।

लुम्बिनीका अध्यक्ष जिसीले फिल्म जगतको ‘लायन’ लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा निकै उत्साहित रहेको उल्लेख गर्दै आफैँ पनि लुम्बिनीमै जन्मिएको र त्यसै स्थानका क्रिकेटरका साथै कन्सलट्यान्ट प्रशिक्षक टोलीमा आबद्ध हुँदा भावनात्मक रूपमा पनि जोडिएको बताए। 

नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म चल्नेछ।

धेरै पढिएको