विराटनगर किङ्ग्सको जर्सी सार्वजनिक
News Desk
Nov-20 , 2024 तारिख 11:47 बिहान

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज विराटनगर किङ्ग्सले जर्सी सार्वजनिक गरेको छ।

विराटनगरस्थित होटल स्वागतममा मङ्गलबार साँझ विशेष समारोह आयोजना गरी आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर किङ्ग्सका मालिक पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछानेले जर्सी सार्वजनिक गरेका हुन्।

सो अवसरमा विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको गीत पनि सार्वजनिक गरेको छ भने द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ।

साथै, यू-१९ महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजाल र खेलाडी रिया शर्मालाई किङ्ग्सले सम्मानसमेत गरेको छ। 

महिला विश्वकपमा नेपालको स्थान सुरक्षित गराउन सफल उनीहरूलाई मुख्यमन्त्री कार्की र पारस लुनियाले प्रशिक्षक रिजाल र खेलाडी शर्मालाई सम्मान गरे।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यही मङ्सिर १५ गतेदेखि काठमाडौँमा हुने एनपिएलअन्तर्गत पहिलो खेलमै विराटनगरले जनकपुर बोल्टसँग खेल्नेछ।

ख्यातिप्राप्त अन्तरराष्ट्रिय खेलाडीहरूको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुँदै छ।

धेरै पढिएको