स्याङ्जाका ३ महिला क्रिकेटरलाई जनही १/१ लाख रुपैयाँका दरले पुरस्कार प्रदान
News Desk
Nov-21 , 2024 तारिख 12:15 बेलुका

स्याङ्जाका ३ महिला क्रिकेटरलाई जनही १/१ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। 

यू-१९ उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यूएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका ३ खेलाडीलाई बुधवार एक कार्यक्रममा पुरस्कार तथा सम्मान गरिएको हो।

शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो।
कार्यक्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ज्योत्सिना मरासिनी, पुतलीबजार–१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिए। संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधवार सम्मान गरेको हो। 

यूएईमा भएको यू–१९ टी–२० महिला विश्वकपको एशिया छनोटको उपाधि विजेता एवं सन २०२५ मा मलेशियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका तीनजना महिला खेलाडी पर्न सफल भएका थिए।

देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन। अबको समय मलेशियामा हुने एशिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन। 

महिला खेलाडीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनही ३३ हजार ३३३ रुपैयाँ पुरस्कार सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले बताए। 

नगर कार्यपालिकाले तीनजनालाई १ लाख प्रदान गर्ने निर्णय गरेकाले आगामी नगरसभाबाट खेलाडीलाई प्रदान गरिने उनले बताए।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही १५ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए। 

गाउँपालिकाले बिहीवार एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको उनले बताए। यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो।

धेरै पढिएको