दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका विरुद्ध नेपाल विजयी
News Desk
Nov-27 , 2024 तारिख 12:12 बेलुका

दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै प्रतियोगितामा खेलेका ४ खेलमा दोस्रो जित हासिल गरेको छ। 

पाकिस्तानको लाहोरमा जारी प्रतियोगिताअन्तर्गत मंगलवार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो। यसअघि सोमवार भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले पराजित गरेको थियो। 

 जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना दरिलो बनेको छ। पहिलो खेलमा नेपाल श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो र ११ रनले पराजित हुन पुज्ञ्ो। 

दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित शतक प्रहार गरे पनि आफ्नो टिमलाई जितउन पर्याप्त भएन। उनले ७१ बलको सामना गरेर ८ चौकाको सहायताले १ सय रन बनाए। 

लेसिबा एफ्राइम माथापोले ४६ रन बनाए भने एडरिक तेर हारले ६ रनमात्र बनाए। लेसेडी लेसुफी ११ रनमा अविजित रहे।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९८ रन स्कोर गरेको थियो। 

नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए। यसका लागि उनले ५७ बल खेले र ४ चौका प्रहार गरे। 

सागर लामाले ४० रन, पदम बडैलाले ३४ रन र भरत थापाले ११ रन बनाएर आउट भए भने सुनिल मगर १ रनमा अविजित रहे। 

दक्षिण अफ्रिकाका लागि भिडलाले १ विकेट लिए।

धेरै पढिएको