सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदीयमान एमेच्योर गल्फर राहुल विकेलाई
News Desk
Nov-29 , 2024 तारिख 12:55 बेलुका

सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदीयमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन। 

अन्तिम दिन ५-अण्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अण्डर २७६ को नतिजामा उनले अनुभवी तोरणविक्रम शाहीलाई एक स्ट्रोकले पराजित गरे। 
राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो।

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरण इभन–पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अण्डर २७७ सहित दोस्रो भए। 

प्रोफेसनलतर्फ पहिलो हुँदै उनले एक लाख ५० हजार नगद प्राप्त गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य भने समग्रमा ७-अण्डर २८१ सहित तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सके।

समग्रमा ३- ाण्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे। निरजले बिहीबार १–ओभर ७३ र भुवनले २-अण्डर ७० मा खेल सकाए। प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। यसैगरी समग्रमा इभन–पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरूपमा छैटौँ भए। सुनिलले २-अण्डर ७० र जयरामले इभन–पार ७२ को स्कोर दर्ता गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए । 

यसैगरी समग्रमा ३–ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सके। उनले बिहीबार इभन–पार ७२ मा खेल पुरा गरे। 

४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौँ भए। 

अन्तिम दिन सञ्जयले इभन–पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे। एमेच्योर गजेन्द्र गुरूङले १०औँ होलमा होल-इन-वानको सफलता प्राप्त गरे।

अन्तिम १८ होलको खेल सुरू गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो। पाधि जित्ने संभावना तोरणको उच्च थियो। तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे। दोस्रो, तेस्रो, सातौं र नवौँ होलमा बर्डी प्रहार गरे। 

उनले बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४-अण्डर ३२ मा सके। यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए।

फ्रन्ट नाइनको खेल सकिंदा राहुलले खेललाई बराबरीमा पुर्‍याए। तोरण र राहुल समान ११-अण्डरमा थिए। 

यसपछि बाँकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो। राहुलले ११औँ र १२औँ होलमा बर्डी प्रहार गरे। तोरणले भने १०औँ र १३औँ होलमा एक–एक सट बचाए भने १५औँ होलमा बोगी प्रहार गर्दा १५औँ होलको खेल सकिंदा खेल बराबरीमा पुज्ञ्ो। 

१६औँ होल राहुलको लागि  टर्निङ प्वाइन्ट बन्यो। उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे। राहुलले एक स्ट्रोकको अग्रता बनाए। १७औँ होलमा दुवैले बोगी र १८औँ होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते।

राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते। डिफेन्डिङ च्याम्पियन सदभावले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेपनि दोस्रो छैटौं र नवौं होलको बोगीले फ्रन्ट नाइन १–ओभर ३७ मा सके। 

यसपछि १०औँ, ११औँ, १४औँ र १७औँ होलमा एक–एक सट बचाए भने १५औँ होलमा डबल बोगी खेपे र १८औँ होलमा एक सट खेर फाले।  ब्याक नाइन १-अण्डर ३५ मा सकाए। उनी समग्रमा तेस्रो र एमेच्योरतर्फ दोस्रो भए।

३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिस्पर्धा गरेको चार दिने प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो। 

प्रतियोगिताका विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस-प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे। 

सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ।

धेरै पढिएको