विराटनगर किंग्सले लोकेश बमको विस्फोटक प्रदर्शनमा पहिलो जित दर्ता गर्यो
News Desk
Dec-05 , 2024 तारिख 12:47 बिहान

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले रोमाञ्चक रुपमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य १९।५ ओभरमा ८ विकेट गुमाएर भेट्टायो।

विराटनगरका ओपनर लोकेश बमले ४७ बलमा ३ चौका र ५ छक्काको मद्दतले ७१ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे। यस्तै, मार्टिन गुप्टिलले २८ रन योगदान गर्दा बसिर अहमदले ४० रन बनाए। प्रतिस जिसी र अन्य ब्याटरहरू भने सस्तोमा आउट भए।

लुम्बिनीका बलरहरू दुर्गेश गुप्ताले सर्वाधिक तीन विकेट लिए भने साद विन जफर र रामोन सिमोन्डले समान दुई-दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको विशाल स्कोर खडा गरेको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। टम मोर्सले ३० रन जोड्दा अन्य ब्याटरले मध्यम प्रदर्शन गरे। चार खेलाडी रन आउट भएका कारण लुम्बिनीको स्कोर अझै अगाडि बढ्न सकेन।

विराटनगरका बलरहरूमध्ये सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक-एक विकेट लिएका थिए।

यो जितसँगै विराटनगरले एनपीएलमा पहिलो सफलता हात पारेको छ भने लुम्बिनीले आफ्नो डेब्यु खेलमै हार बेहोरेको छ।

धेरै पढिएको