ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
News Desk
Dec-06 , 2024 तारिख 10:17 बेलुका

ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ ।

तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले शुक्रवार लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो । १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६।५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

पोखराका गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे। एनपिएलमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका हुन ।

पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरे । यो एनपिएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डमा रहेर त्यहाँको घरेलु क्रिकेट खेल्ने दिनेशले ६१ रन जोडे । उनले ४६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । नेपालको अरु घरेलु क्रिकेट नखेल्ने दिनेशले २०७९ मा भएको नवौं राष्ट्रिय खेलकुदमा गैरआवासिय नेपाली टिमबाट खेलेका थिए ।

पोखराले पावर प्लेमा कुनै विकेट नगुमाई ८० रन जोड्दै सर्वाधिक रनको कीर्तिमान समेत बनायो । यसअघि जनकपुरले कर्णाली याक्सविरुद्ध कुनै विकेट नगुमाई बनाएको ५६ रनको कीर्तिमान लुम्बिनीले तोड्यो । लुम्बिनीले ७ बलरको प्रयोग गरेपनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन ।

लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।

लगातार दुई खेलमा पराजित पोखराकाे याे पहिलो जित हाे । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।

आज भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले तेस्रो खेलमा पहिलो जित हासिल गर्दा चितवनले तेस्रोमा पहिलो हार बेहारेको हो ।

एनपिएलमा शनिवार पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दोस्रो खेल विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

धेरै पढिएको