News Desk
नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ।
कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरले ८ विकेट गुमाएर ११९ रन बनायो।
जनकपुरका लागि जेम्स निसमले ४५ रनको योगदान दिए भने हर्ष थाकरले १७, मयन यादव र आकाश त्रिपाठीले १३/१३, कप्तान आशिफ शेख ४, शुभ कंसाकारले ३‚ लाहिरू मिलान्थाले २, मोहम्मद मोहसिनले एक रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए।
कर्णालीका लागि विपिन शर्माले ३, कप्तान सोमपाल कामी, जिसान मक्सुद, विलियम बसिस्टोले एक विकेट लिए।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो। कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी ५‚ अर्जुन घर्ती २, जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे।
जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोहसिनले २, हर्ष ठाकर र शेर मल्लले १/१ विकेट लिए। उपाधिका लागि जनकपुरले सुदूरपश्चिम रोयल्ससँग प्रतिष्पर्धा गर्नेछ।
टस हारेर मैदानमा उत्रिएको कर्णालीका लागि पहिलो विकेट जयकिसन कोल्सावालाको गुम्यो। १।१ ओभरमा ४ बल खेलेर एक रन बनाएका उनलाई ललित राजवंशीले आउट गरेका हुन।
५।१ ओभरमा जेम्स निसमले २४ रन बनाएका देव खनाललाई आउट गरे। खनालले २० बलमा ३ चौका र एक छक्का हानेका थिए।
पावरप्लेमा कर्णालीले दुई विकेट गुमाएर ४४ रन बनाएको थियो। ६।४ ओभरमा मोहम्मद महसिनले जिसान मक्सुदलाई आउट गरे। उनले ११ बलमा दुई चौकासहित १२ रन बनाएका थिए।
९।२ ओभरमा विलियम बसिस्टो १४ बलमा १४ रन बनाएर आउट भए। उनलाई ललितले नै आउट गरेका हुन। ११।२ ओभरमा ११ रन बनाएर चाडविक वाल्टन आउट भए। १३ बलमा एक चौका बनाएका उनलाई हर्ष थाकरले आउट गरेका हुन।
३ बलमा २ रन बनाएका अर्जुन घर्ती रन आउट भए। उनलाई मयन यादवले पेभेलियन फर्काइदिए। १५।१ ओचरमा शेर मल्लले कप्तान सोमपाल कामीलाई आउट गरे।
उनले ८ बलमा ५ रन बनाउँदै पेभेलियन फर्किन बाध्य भए। १९ बलमा २५ रन बनाएका गुलशन झा महम्मद मोहसिनले आएट गरे। १६।१ ओभरमा कर्णालीको ८ विकेट गुमेर १०३ रन बनेको थियो।
१९।६ ओभरमा निसमले युनिस ठकुरीलाई आउट गरे। दुई चौकासहित १७ बलमा १२ रन बनाएका उनी एलबिड्बलु धरापमा परे। नन्दन यादव ४ रनमा अविजित रहे। कर्णालीले ८ रन एक्स्ट्रा प्राप्त गर्दै ११८ रन बनायो।
११९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरको शुभ कंसाकारको गुम्यो। ६ बलमा ३ रन बनाएका उनलाई १।३ ओभरमा विपिन शर्माले आउट गरेका हुन।
२।३ ओभरमा कप्तान सोमपालले जनकपुरका कप्तान आशिफ शेखलाई आउट गरे। ६ बलमा ४ रन बनाएका उनलाई मयन यादवले क्याच गर्दै पेभेलियन फर्काइदिए।
४।२ ओभरमा विलियम बसिस्टोले ९ बलमा २ रन बनाएका लाहिरू मालिन्था आउट भए। यतिबेला जनकपुरको १६ रन बनेको थियो।
जनकपुरले पावरप्लेमा ३ विकेट गुमाएर २६ रन बनाएको थियो। जिसान मक्सुदले २० बलमा १३ रन बनाएका आकाश त्रिपाठीलाई आउट गरे। यतिबेला जनकपुरको १० ओभरमा ४१ रन बनाएको थियो।
हर्ष थाकर २६ बलमा दुई चौकासहित १७ रन बनाएर आउट भए। ११।५ ओभरमा उनलाई जिद मक्सुदले रन आउट गरे।
१७ बलमा दुई चौका र ५ छक्कासहित ४५ रन बनाएका जेम्स निसमलाई विपिनले बोल्ड गर्दै आउट गरे। निसमले जनकपुरलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेले। १५।३ ओभरमा जनकपुरको ९४ रन बनेको थियो।
१५।६ ओभरमा विपिनले नै दुई बलमा एक रन बनाएका मोहसिनलाई एलबिडब्लु धरापमा पारे। १८।३ ओभरमा १७ बलमा १३ रन बनाएका मयन यादव रन आउट भए।
तर शेर मल्लले १० बलमा एक छक्कासहित १६ रन बनाएपछि जनकपुरको ११९ रन पुज्ञ्ो। यसरी जनकपुरले कर्णालीमाथि जित हात पार्यो। जनकपुरले ४ रन एक्स्ट्रा प्राप्त गर्यो।
जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेलेको थियो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
हिजो सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध ८ विकेटले खेल जितेको थियो। जितसँगै सुदूर फाइनल प्रवेश गरेको थियो। अब उपाधिका लागि यि दुईको प्रतिष्पर्धा पर्सि शनिवार हुनेछ।