त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि पुनः बोलपत्र आह्वान
News Desk
Dec-21 , 2024 तारिख 02:13 बेलुका

काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण तथा फ्लडलाइट जडानका लागि पुनः बोलपत्र आह्वान गरिएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, शहरी विकास मन्त्रालय अन्तर्गत, आज एक सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो।

बोलपत्र दर्ताका लागि आगामी माघ ६ गते दिउँसो १२:३० बजेसम्मको समयसीमा तोकिएको छ भने सोही दिन दिउँसो १:30 बजे बोलपत्र खोलिने कार्यक्रम छ।

यसअघि दुई पटक फ्लडलाइट जडानका लागि आह्वान गरिएका बोलपत्र रद्द भएका थिए। नयाँ बोलपत्रमा प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि १ करोड ७३ लाख रुपैयाँ बैंक ग्यारेन्टीको व्यवस्था गरिएको छ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा कीर्तिपुरस्थित त्रिवि मैदानको स्तरोन्नति र फ्लडलाइट जडान कार्य अघि बढाउन २० करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर, फ्लडलाइट जडानका लागि छुट्याइएको १० करोड रुपैयाँ खर्च नहुँदा फिर्ता भएको थियो।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा मैदानमा फ्लडलाइट जडान कार्यलाई निरन्तरता दिन पुनः २० करोड रुपैयाँ विनियोजन गरिएको छ।

सरकारले अबको प्रक्रियालाई तीव्रता दिँदै त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदान बनाउने लक्ष्य राखेको छ।

धेरै पढिएको