एनपीएलको फाइनल: उपाधिसँगै सर्वोत्कृष्ट खेलाडीको प्रतिस्पर्धा रोमाञ्चक
News Desk
Dec-21 , 2024 तारिख 02:48 बेलुका

नेपाल प्रिमियर लिग (एनपीएल) अब आफ्नो अन्तिम चरणमा पुगेको छ, जहाँ फाइनल खेल मात्र बाँकी छ। उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुने पक्का भइसकेको छ। उपाधिको लडाइँसँगै सर्वोत्कृष्ट खेलाडीको उपाधि को हातमा जाने भन्ने कौतुहलता पनि चुलिएको छ। व्यक्तिगत प्रदर्शनमा चम्किएका खेलाडीहरू पुरस्कारको प्रमुख दाबेदार बनेका छन्।

दीपेन्द्रसिंह ऐरी: ब्याट, बल र कप्तानीको उत्कृष्ट संयोजन

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलसम्म पुर्याएका छन्। उनी ब्याटिङ, बलिङ र कप्तानीमा सन्तुलन कायम राख्ने खेलाडीका रूपमा चिनिन्छन्। लिग खेलमा विराटनगरविरुद्ध ५७ रन र लुम्बिनीविरुद्ध ३९ रनको योगदान दिएका दीपेन्द्रले समग्रमा २१८ रन बनाएका छन्। बलिङतर्फ पनि उनले आठ विकेट लिँदै प्रभावशाली प्रदर्शन देखाएका छन्। फाइनलमा उनको खेल निर्णायक बन्ने अपेक्षा गरिएको छ।

कुशल मल्ल: युवा जोश र अनुभवको उत्कृष्ट मिश्रण

चितवन राइनोजका कुशल मल्ल प्रतियोगिताका उदाउँदा तारा हुन्। युवा खेलाडी भए पनि उनले जिम्मेवारीको साथ प्रदर्शन गर्दै २२३ रन र नौ विकेट आफ्नो नाममा लेखाएका छन्। पोखरा एभेन्जर्सविरुद्ध ३८, जनकपुरविरुद्ध ७२ र कर्णालीविरुद्ध २१ रन बनाएका कुशलले बलिङमा पनि उत्कृष्ट प्रभाव छोडेका छन्। उनी सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्न बलियो दाबेदार मानिन्छन्।

रोहित पौडेल: उत्कृष्ट प्रदर्शन तर टिमको दुर्भाग्य

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल व्यक्तिगत रूपमा उत्कृष्ट भए पनि टिमको कमजोर प्रदर्शनले लिग चरणबाटै बाहिरिनु पर्यो। रोहितले ७ खेलमा २७९ रन बनाएर उच्च प्रदर्शन गरेका छन्। दुई अर्धशतकसहित, चितवनविरुद्ध ८० रनको इनिङ्सले उनलाई अझै बलियो बनाएको छ। बलिङतर्फ पनि उनले आठ विकेट लिएका छन्। तर टिमलाई जित दिलाउन नसक्दा, उनको प्रदर्शन व्यक्तिगत उपलब्धिमा सीमित रह्यो।

ललित राजवंशी: बलिङमा बर्चश्व कायम

जनकपुर बोल्ट्सका ललित राजवंशी बलिङतर्फ सर्वाधिक १६ विकेट लिएर लिडिङ विकेट टेकर बनेका छन्। उनी जनकपुरको म्याच विनरका रूपमा परिचित छन्। ५.५० को इकोनोमी रेटसहित, उनी लगातार प्रदर्शन सुधार गर्दै आएका छन्। जनकपुरलाई फाइनलमा पुर्याउने क्रममा उनले प्रभावशाली बलिङ गर्दै विपक्षी ब्याट्सम्यानहरूलाई दबाबमा राखेका छन्। फाइनलमा उनको प्रदर्शन अवार्ड जित्ने सम्भावनालाई थप बलियो बनाउनेछ।

रिजन ढकाल र अन्य युवा प्रतिस्पर्धीहरू

चितवन राइनोजका रिजन ढकालले पनि बलिङमा उत्कृष्टता देखाएका छन्। पाकिस्तानका सोहेल तन्विरसँग साझेदारी गर्दै उनले १३ विकेट लिएका छन्। लुम्बिनी र पोखराविरुद्ध तीन-तीन विकेट लिँदै रिजनले आफ्नो क्षमताको परिचय दिएका छन्। त्यस्तै, कर्णालीका विपीन शर्माले पनि १३ विकेट लिँदै आफ्नो नाम सर्वोत्कृष्ट खेलाडीको दौडमा राखेका छन्।

फाइनल निर्णायक: अवार्ड को हातमा?

अब फाइनल खेलले सर्वोत्कृष्ट खेलाडीको टुंगो लगाउनेछ। जनकपुर र सुदूरपश्चिमबीचको यो भिडन्तमा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीमध्ये एक जना कार पुरस्कारका प्रमुख दाबेदार मानिन्छन्। ब्याटिङ, बलिङ र कप्तानीका उत्कृष्ट संयोजनमा रहेका यी खेलाडीहरूले उपाधिसँगै व्यक्तिगत अवार्ड पनि जित्ने आशा गरेका छन्।

नेपाल प्रिमियर लिगको यो सिजन व्यक्तिगत र टोलीगत प्रदर्शनमा रोमाञ्चक मोडमा पुगेको छ। अन्तिम खेलपछि को सर्वोत्कृष्ट ठहरिने हो—यसका लागि सबै क्रिकेटप्रेमीहरू प्रतीक्षामा छन्।

धेरै पढिएको