दोस्रो नएनपिएल अहिलेको भन्दा अझ व्यवस्थित बनाउछौ : मन्त्री चौधरी
News Desk
Dec-23 , 2024 तारिख 12:34 बेलुका

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अहिलेको भन्दा अझ व्यवस्थित र उत्कृष्ट बनाउने बताएका छन। यसका लागि सरकारका तर्फबाट आफू लागिपर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

राजधानीमा आज आयोजित एउटा अन्तरक्रियामा मन्त्री चौधरीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए। रङ्गशाला अत्याधुनिक बनाउन स्रोत सुनिश्चित भएको उनले बताए। 

खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै मन्त्री चौधरीले आफ्नो मन्त्रालयको कुल बजेट साढे ३ अर्ब रुपैयाँ रहेकाले खेलकुद र खेलाडीको वृत्तिविकासका लागि अपेक्षाकृत काम गर्न नसकिएको बताए।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला र कीर्तिपुर रङ्गशालामा गरी कुल १२ अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने जानकारी दिए। 

सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो औँल्याउँदै उनले भने, “क्रिकेटका तीनवटा रङ्गशाला राष्ट्रिय गौरवको योजनामा छन। तीनवटै रङ्गशालाको बजेट करिब १२ अर्ब रुपैयाँ पेश भएको छ।”

सरकारले खेलाडीको वृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीको आर्थिक अवस्था बलियो बनाउन नीतिगत निर्णय गर्ने मन्त्री चौधरीको भनाइ थियो। 

बैङ्कर्स सङ्घ, आयल निगम, विद्युत प्राधिकरणलगायत संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको जानकारी उनले दिए।

खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रै फुटबलका लागि नयाँ रङ्गशाला निर्माण गर्न उपयुक्त स्थानको खोजी भइरहेको बताए।

धेरै पढिएको