एन​पिएल​मा भ​एका कीर्तिमान त​था विजेता
News Desk
Dec-24 , 2024 तारिख 12:22 बेलुका

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो संस्करणमा जनकपुर बोल्ट्स च्याम्पियन बनेको छ। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो।

उपाधिसँगै नगद पुरस्कार र व्यक्तिगत अवार्डहरू

विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पायो। तेस्रो स्थानमा रहेको कर्णाली याक्सले २५ लाख रुपैयाँ जित्दा चौथो बनेको चितवन राइनोजले १५ लाख रुपैयाँमा चित्त बुझायो।

एनपिएलको उत्कृष्ट खेलाडीहरूमध्ये दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड जित्दै करिब ६२ लाख रुपैयाँ मूल्यको ओमोडा ई फाइभ डिएलएक्स कार प्राप्त गरे। जनकपुरका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जिते।

सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट को उपाधि सैफ जैबले जिते। उनले ५ लाख रुपैयाँ नगद पुरस्कार पाए। सैफले प्रतियोगितामा २७५ रन जोड्दै १२ विकेट लिएका थिए।

अन्य उत्कृष्ट प्रदर्शन
जनकपुरका खेलाडी लाहिरु मिलान्थाले म्याक्स फोर अफ द टुर्नामेन्ट अवार्ड जिते। उनले ३५ चौका प्रहार गर्दै २ लाख रुपैयाँको चेक हात पारे।

त्यस्तै, जनकपुरका जिमी निसमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड जिते। उनले २४७ रन बनाएर ७ विकेट लिएका थिए। निसमले पनि २ लाख रुपैयाँ जिते।

कर्णाली याक्सका विपिन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधिसहित ५० हजार रुपैयाँ र १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति पाए।

एनपिएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जित्दै आफ्नो अनुशासित प्रदर्शन देखायो।

कीर्तिमानहरू

पहिलो शतकः
 पोखरा एभेन्जर्सका आन्द्रेस गोसले एनपिएलमा एकमात्र शतक बनाए। उनले ५५ बलमा १०४ रन बनाउँदै कीर्तिमान राखे।

सबैभन्दा धेरै विकेटः
 जनकपुरका ललित राजवंशी र सुदूरका स्कट कुगलियनले समान १७ विकेट लिए।

सबैभन्दा धेरै रनः 
जनकपुरका लाहिरु मिलान्थाले २९३ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बने।

ओपनिङ साझेदारी र जितको लहर

पोखरा एभेन्जर्सका दिनेश खरेल र आन्द्रेस गोसले १७१ रनको साझेदारी गर्दै सबैभन्दा ठूलो ओपनिङ पार्टनरशिपको कीर्तिमान राखे।

जनकपुरले प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराउँदै शानदार शुरुवात गरेको थियो भने फाइनलमा सुदूरपश्चिमलाई हराएर ऐतिहासिक जितद्वारा अन्त्य गर्‍यो।

सबैभन्दा ठूलो जित र न्यून स्कोर

पोखरा एभेन्जर्सले १० विकेटको जित हात पार्दै प्रतियोगितामा दबदबा देखायो।

तर, जनकपुरले एक खेलमा ५१ रनमै अलआउट हुँदै सबैभन्दा न्यून स्कोरको रेकर्ड पनि बनायो।

एनपिएलको अन्त्य र नयाँ सम्भावना

नेपाल प्रिमियर लिगको पहिलो संस्करणले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थपेको छ। जनकपुर बोल्ट्सको ऐतिहासिक जितसँगै एनपिएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने संकेत दिएको छ।

धेरै पढिएको