News Desk
सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई सम्मान गरेको छ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा आज दुवैलाई सम्मान गरिएको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले दोसल्ला र प्रशंसापत्रसहित दुवैलाई सम्मान गरे।
एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा ६ अन्तरराष्ट्रिय प्रतियोगिता खेलेकी छन। विश्व च्याम्पियनसिपबाहेक एरिकाले ५ अन्तरराष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र एक कांस्य गरी ८ पदक जितेकी छन।
सबै प्रतियोगितामा पदक जित्दा कुशल नै एरिकाको प्रशिक्षक थिए। कुशल १०औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन।
ललितपुर महानगर प्रमुख महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकामा खुसी व्यक्त गर्दै खेल क्षेत्र अन्तरराष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउनसक्ने महत्वपूर्ण माध्यम भएको बताए।
संस्थापक प्रिन्सिपल ढुङ्गानाले नेपालमा पनि विस्तारै खेलकुदमा लागेर जीविकोपार्जन गर्नसक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताए।