News Desk
काठमाडौंमा सम्पन्न पहिलो नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ।
गौर नगरपालिकाका मेयर शम्भु साहको नेतृत्वमा आयोजित कार्यक्रममा बोल्ट्सका खेलाडीलाई फूलमालासहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
मेयर साहले बोल्ट्सको ऐतिहासिक जितले मधेश प्रदेशलाई गौरव प्रदान गरेको भन्दै आगामी दिनमा खेलकुदको विकास र प्रोत्साहनका लागि आफ्नो सक्रिय योगदान रहने प्रतिबद्धता जनाए।
जनकपुर बोल्ट्सको व्यवस्थापन टोलीले एनपीएलको ट्रफीसहित मधेश प्रदेशका आठै जिल्लामा सम्मान कार्यक्रम आयोजना गर्ने योजनाअनुसार गौर आइपुगेका थिए। आइतवार बिहान गौरमा पुग्दा खेलाडीहरूलाई स्थानीय संघ–संस्थाले विशेष झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरेका थिए।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, नगरवासी, खेलप्रेमी, संघका पदाधिकारीसहित सयौं सर्वसाधारण सहभागी थिए। कार्यक्रममा बोल्ट्सका खेलाडीहरूको सफलतालाई क्षेत्रीय खेलकुदको उन्नतिका लागि प्रेरणादायी कदमका रूपमा लीएको बताइएको छ।
गौरको यो स्वागत कार्यक्रमले खेलाडी र खेलप्रेमीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ भने मधेश प्रदेशको खेलकुद विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको छ।